Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

मनसुनको ६० दिनः देशैभरि सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

मनसुनको ६० दिनः देशैभरि सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

  • काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ । 

     

    गत जेठ १५ गते ९मे २८०मा नेपाल भित्रिएको मनसुनको आजसम्मको अवस्था प्रतिवेदन सार्वजनकि गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो । 

     

    जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिएलगत्तै केही समय निष्क्रिय रह्यो । असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ थियो । 

     

    उहाँका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट मात्रै ४३ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का समग्र घटनालाई केलाउँदा गत वर्षको तुलनामा यस वर्ष घटना पनि कम घटेका छन्भने मानवीय र भौतिक क्षति पनि कम नै रहेको प्राधिकरणले जानकारी दिएको छ । 

     

    “असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । वर्षा नै नभई रातको समयमा अकस्मात बाढी आएका कारण मानिसहरूले सुरक्षित ठाउँसम्म पुग्न समय नै पाएनन् । बाढीका कारण २० जना बेपत्ता भएकामा १२ वटा शव तथा मानव अङ्ग फेला पारिएकामा हालसम्म दुईवटा शवको मात्र पहिचान भएको छ”, प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

     

    बेपत्तामध्ये दुईजना सम्पर्कमा आइसकेका र सोही बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–८ इन्द्रेणीघाटमा फसेका एक दम्पतीको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

     

    यस वर्षको मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको र धान रोपाइ र बालीनाली लगाउनुपर्ने बेला भएकाले त्यहाँको जनजीवन नराम्ररी प्रभावित भइरहेको प्राधिकरणले प्रतिवेदनमा उल्लेख छ । 

     

    पिउने पानी र सिँचाइका स्रोतसमेत सुकेपछि मधेस प्रदेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको छ भने सङ्घीय सरकारले यही साउन ७ गते विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  

     

    यसै सन्दर्भमा प्राधिकरणले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेस केन्द्रित गर्न अनुरोध गरिसकेको जनाएको छ । 

     

    तीनै तहका सरकार र विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा दीर्घकालीन समाधानका लागि पिउने पानी र सिँचाइको सम्भाव्यता खोजी गर्ने काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij