काठमाडौँ । प्रहरीले एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो कोकिनसहित पक्राउ गरेको छ । विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले महिलाको गतिविधि शंकास्पद लागेपछि उनलाई मंगलबार पक्राउ गरेको हो ।
ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, पक्राउ पर्नेमा ३५ वर्षीया महिला रुबिना अब्दुल्लाह शेख छिन् । ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ । कोकिन तस्करीकै लागि त्यो ब्याग डिजाइन गरिएको जस्तो देखिन्छ ।उनलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा कोकिन लिन आएका अर्का भारतीय नागरिक समेत पक्राउ परेका छन् ।
लागूऔषध लिन आएका बेला पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय अरुणप्रताप छन् । प्रहरीले अर्का भारतीय नागरिकलाई बुधबार पक्राउ गरेको थियो । दुवै जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।
यसैबीच, प्रहरीले नागार्जुन नगरपालिका–३, इचंगुनारायणबाट समेत कोकिन कारोबारमा संलगन रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इरिट्रेरियन नागरिक ३७ वर्षीय युसुफ एटोम र रसियन नागरिक ४४ वर्षीय एन्ड्रिई मल्सेभ छन् । उनीहरूको विषयमा थप अनुसन्धान भाइरहेको प्रहरीले जनाएको छ ।