Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

शर्मा–दाहाल विवादपछि गुटबन्दी र सार्वजनिक आलोचना बन्द गर्ने निर्णय

शर्मा–दाहाल विवादपछि गुटबन्दी र सार्वजनिक आलोचना बन्द गर्ने निर्णय

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना नगर्न नेताहरूलाई कडा निर्देशन दिएको छ। सोमबार सम्पन्न स्थायी समिति बैठकले पार्टी निर्णयविपरीत सार्वजनिक मञ्चमा धारणा राख्ने कार्यलाई अनुशासनहीनता ठहर गर्दै आवश्यक परे कारबाहीको दायरामा ल्याउने निर्णय गरेको हो।

    पार्टी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व र कार्यशैलीप्रति विभिन्न सार्वजनिक मञ्चहरूमा आलोचना गर्दै आएको पृष्ठभूमिमा स्थायी समितिले यस्तो निर्णय लिएको हो। बैठकमा अधिकांश सदस्यहरूले पार्टी प्रणाली बाहिर गएर धारणा राख्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै आत्मालोचना गराउनुपर्ने माग गरेका थिए।

    स्थायी समितिमा ४६ मध्ये ४० जना नेताहरूले शर्मालाई लिखित आत्मालोचना दिन दबाब दिएका थिए। यद्यपि अध्यक्ष दाहालले तत्कालीन अवस्थामा त्यसमा जोड नदिँदा कारबाही प्रक्रिया अघि नबढाइएको माओवादीका एक नेताले जानकारी दिए। शर्मा स्वयंले अब पार्टीलाई एकताबद्ध बनाउने र विधिपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएपछि विवाद केही मत्थर भएको देखिएको छ।

    बैठकले पार्टीभित्र गुट वा उपगुट बनाउने प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रक्रिया अघि बढाउने र अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने निर्णय पनि गरेको छ। उपमहासचिव वर्षमान पुनले पनि पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न विधिसम्मत प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

    माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी समितिको बैठकबाट पार्टी एकताबद्ध बनेको दाबी गरेका छन्। उनले उपमहासचिव शर्माले पार्टी निर्णयको सम्मान गर्दै भविष्यमा विधिपूर्वक अघि बढ्ने बताएका जानकारी दिए।

    यसैबीच, माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्ने निर्णयसमेत स्थायी समिति बैठकबाट गरेको छ।

    दाहाल र शर्माबीचको दूरी सन् २०२१ (२०७८ साल) को आठौँ महाधिवेशनदेखि बढेको थियो। महासचिवको आकांक्षामा रहेका शर्मालाई दाहालले उपमहासचिवमा सीमित गरेपछि असन्तुष्टि चुलिएको थियो। त्यसयता शर्माले नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रका विषयमा सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका थिए।

    पार्टीभित्र असन्तोषको स्वरलाई थाम्दै माओवादी केन्द्र अहिले एकताको सन्देश दिन प्रयत्नशील देखिएको छ। तर सार्वजनिक आलोचना रोक्ने निर्णयले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप सङ्कुचित बनाउने हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij