
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । सडक विभागद्वारा आज यहाँ आयोजित गत आवको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, विस्तारै गरौँला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । आव सुरु हुनुभन्दा डेढ महिनाअघि बजेट सार्वजनिक गर्नुको मर्म पनि आवको सुरुआतसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै उहाँले तत्कालैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिनुभयो । “आवको अन्त्यतिर हतारहतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ”, मन्त्री दाहालले भन्नुभयो, “बेलामा काम नथाल्ने अनि बित्न लागेपछि हतार गरेर प्रभावकारी परिणाम निस्कदैन, त्यसैले अहिलेदेखि नै काम अघि बढाउनु होला, गत आवको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय तथा सडक विभाग प्रमुख अङ्ग रहेकाले सडक विभागको काम र परिणामले सिङ्गो मन्त्रालयको कार्यसम्पादन र नतिजामा महत्त्वपूर्ण अर्थ राख्ने मन्त्री दाहालको भनाइ थियो । थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै उहाँले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिनेमा जोड दिनुभयो ।
गुणस्तरमा सम्झौता नगर्नु कुनै पनि पूर्वाधार निर्माणलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन । समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।” वर्षायाम सुरु भइसकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी स्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उहाँको निर्देशन छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने निर्देशन दिनुभयो । रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उहाँले बाँकी रुग्ण आयोजनाको व्यवस्थापनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । मन्त्रालयले गत आवमा विगत छ वर्षयताकै उच्च पुँजीगत खर्च गरेको थियो । आव २०८१/८२ मा छ वर्षयताकै सबैभन्दा बढी ७६ दशमलव ४१ प्रतिशत प्रगति भएको मन्त्रालयले यसअघि जनाइसकेको छ । यस्तै सडक विभागका महानिर्देशक डा विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको प्रक्रियामा ढिलाइ नगर्ने बताउनुभयो । वर्षको अन्त्यमा चाप पर्न नदिने गरी तत्कालैदेखि काम सुरु गरी छिटो नतिजा निकाल्ने गरी काम गर्न विभाग क्रियाशील रहेको उहाँको भनाइ छ । वर्षाको समयमा सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सकेसम्म छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij