Logo

Aug 07 2025 | २०८२, साउन २२गते

Aug 07 2025 | २०८२, साउन २२गते

images

गाडी किन्ने हो? बैंकले ल्याए सस्तो ब्याजमा हायर पर्चेज योजना

गाडी किन्ने हो? बैंकले ल्याए सस्तो ब्याजमा हायर पर्चेज योजना

  • काठमाडौँ ।नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारदेखि राजधानीमा सुरु भएको छ। सवारी साधनहरुको आकर्षक प्रदर्शनीसँगै बैंकहरुले पनि हायर पर्चेज (सवारी कर्जा) योजना सार्वजनिक गर्न थालेका छन्।

    हाल बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएको र ब्याजदरमा समेत उल्लेखनीय गिरावट आएको कारणले गर्दा हायर पर्चेज कर्जा लिने उपभोक्ताको संख्यामा वृद्धि हुने विश्वास गरिएको छ। विशेषगरी, सस्तो कर्जाको अवसरमा बैंकहरु आक्रामक रुपमा सवारी कर्जामा आकर्षित भएका छन्।

    कस्तो छ हायर पर्चेज कर्जाको अवस्था?

    २०८२ सालको जेठ मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले कुल १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो।

    ग्लोबल आईएमई बैंक यस क्षेत्रमा सबैभन्दा अगाडि रहेको छ। बैंकले मात्र १५ अर्ब ६८ करोड रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको १३ अर्ब ८१ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।

     ब्याजदर अझै सस्तो

    बैंकहरुको बेस रेट (Base Rate) अहिले औसतमा ६ प्रतिशत रहेको छ, जुन पछिल्ला ५ वर्षकै न्यूनतम हो।
    हाल हायर पर्चेज कर्जामा प्रिमियम भने ०.२५% देखि ५% सम्म थपिएको पाइन्छ।
    धेरैजसो बैंकहरूले १.५% देखि ३.५% सम्म प्रिमियम थपेर कर्जा दिइरहेका छन्। यसले गर्दा उपभोक्ताले एकल अंकको ब्याजदरमै सवारी कर्जा प्राप्त गर्न सक्छन्।

    एक्स्पोले ल्यायो अवसर

    सस्तो कर्जाको वातावरण, नयाँ सवारी साधनको प्रर्दशनी र ग्राहकको चासोबीच नाइमा मोबिलिटी एक्स्पो २०२५ सवारी कर्जा बजारलाई थप सक्रिय बनाउने देखिन्छ। बैंकहरु पनि यो अवसरलाई उपयोग गर्दै आक्रामक हायर पर्चेज योजना प्रस्तुत गर्ने दौडमा छन्।एक्स्पोको सुरुवातसँगै सस्तो ब्याजदर र सवारी कर्जाको सहज पहुँच उपभोक्ताका लागि ठूलो अवसर बनेको छ। बैंकहरुको सक्रियता र प्रतिस्पर्धात्मक प्रस्तावले कर्जा बजारमा थप गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij