
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा थुप्रिएको वित्तीय प्रणालीको रकम ४ खर्बमा झरेको छ । शुक्रबार स्थायी निक्षेप सुविधाको साढे २ खर्ब फिर्ता भएपछि केन्द्रीय बैंकमा रहेको बक्यौता रकम घटेको हो ।
बिहीबार केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ६ खर्ब ६९ अर्ब रुपैयाँ बक्यौता रहेकोमा यो रकम शुक्रबार घटेर ४ खर्ब १५ अर्बमा झरेको हो । बिहीबार केन्द्रीय बैंकले लिएको स्थायी निक्षेप सुविधा अन्तर्गतको २ खर्ब ५४ अर्ब रुपैयाँ फिर्ता गरेपछि बक्यौता रकम घटेको हो ।
केन्द्रीय बैंकले स्थायी निक्षेप परिपक्व हुने दिन सार्वजनिक बिदा परेको खण्डमा अघिल्लो दिनै फिर्ता गर्ने गर्छ । सोही अनुसार आइतबार सार्वजनिक बिदा भएका कारण बिहीबारको स्थायी निक्षेप आइतबार परिपक्व हुनुपर्नेमा शुक्रबार नै फिर्ता गरिएको छ ।शुक्रबार केन्द्रीय बैंकसँग निक्षेप संकलन उपकरण मार्फत खिचेको रकम ४ खर्ब १५ अर्ब मात्रै बक्यौता रहेको हो ।
निक्षेप संकलन उपकरणको लगानी धेरै दिनका लागि होल्ड हुने भएकाले पनि बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गरेका हुन् । स्थायी निक्षेप सुविधाको अवधिमा ३ दिन मात्रै हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij