Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

डिजिटल भुक्तानी :वालेट कम्पनीहरूलाई आतंकवादीहरूको पहिचान गरी सेवा प्रदान गर्नुपर्ने निर्देशन

डिजिटल भुक्तानी :वालेट कम्पनीहरूलाई आतंकवादीहरूको पहिचान गरी सेवा प्रदान गर्नुपर्ने निर्देशन

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक अथवा वालेट कम्पनीका लागि   वित्तीय प्रतिबन्ध सम्बन्धी व्यक्ति पहिचानको काम गर्नुपर्ने गरी मार्गदर्शन जारी गरेको छ । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को खैरोसूचीमा परेपछि वालेट कम्पनीलाई सूचकका रूपमा राख्दै व्यक्ति पहिचान भए वित्तीय कारोबार रोक्का गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

    गत फेब्रुअरीमै नेपाल ग्रे लिस्टमा परेको थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार वालेट कम्पनीलाई सम्पत्ति शुद्धीकरणको सूचक कम्पनी रुपमा राखिएको छ । अब उपरान्त  वालेट कम्पनीले पनि २४ घण्टाभित्रै शंकास्पद व्यत्तिको वालेट रोक्का गरिसक्नुपर्ने मार्गदर्शन गरिएको छ । एफएटीएफले दिएको सुझाव अनुसार लक्षित वित्तीय प्रतिबन्धका निमित्त नेपालले २ सूची हेर्नुपर्छ । पहिलो संयुक्त राष्ट्रसंघको एकीकृत प्रतिबन्धित सूची र दोस्रो नेपाल आफैले तयार पारेको आतंकवादी सूची हो । यी दुई सूचीका आधारमा वालेटले कारोबार रोक्का राख्ने र वित्तीय सेवा वा रकम ट्रान्स्फर गर्न प्रतिबन्ध लगाउनुपर्ने छ ।

    उनीहरूले संयुक्त राष्ट्रसंघको एकीकृत सूची र गृह मन्त्रालयले सार्वजनिक गर्ने सूची निरन्तर हेरेर यस्ता व्यक्ति र उनीहरुसँग कारोबार गर्नेलाई कारोबार रोक्नुपर्ने हुन्छ । राष्ट्र बैंकको उक्त मार्गदर्शन अनुसार वालेटले संयुक्त राष्ट्रसंघको सूचीमा आफ्नो रेजिस्ट्रेसन गरी सब्स्क्राइब गर्नुपर्नेछ भने नोटिफिकेसन अन गर्नुपर्ने जनाइएको छ । राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए अनुसार गृह मन्त्रालयको लक्षित वित्तीय प्रतिबन्ध पोर्टल पनि निरन्तर भिजिट गरी प्रतिबन्धित व्यक्ति वा संस्थाको सूची अद्यावधिक गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij