
काठमाडौँ ।नेपालको दोस्रो बजारमा कम्पनीहरूको वित्तीय विवरणप्रति लगानीकर्ताको चासो र विश्वास तीव्र गतिमा घट्दो क्रममा छ। केही वर्षअघि मात्र राम्रो वित्तीय विवरण प्रकाशित हुने बित्तिकै शेयर मूल्य उचालिने चलन थियो। तर अहिले भने जति राम्रो विवरण आए पनि बजारले खासै प्रतिक्रिया देखाइरहेको छैन।
पछिल्ला दिनमा सूचीकृत कम्पनीहरूले चौथो त्रैमासको विवरण सार्वजनिक गरिरहेका छन्। यद्यपि बजार घट्दो क्रममा रहे पनि राम्रा विवरण आएका कम्पनीहरूको शेयर मूल्यमा अपेक्षित वृद्धि देखिएको छैन। यसको एक कारण, पछिल्लो समय नाफा प्राकृतिक रुपमा नभई नियामकीय प्रावधानका कारण बढ्ने-घट्ने क्रमको बढोत्तरी हो। नियामक निकायको कडाइले नाफा घट्ने र उदार नीतिले बढ्ने अवस्था बारम्बार दोहोरिँदा लगानीकर्तामा अनिश्चितता बढेको छ।
अर्को कारण, अपरिष्कृत विवरण र अडिटेड विवरणबीच ठूलो अन्तर हुनु हो। धेरै कम्पनीहरूले सुरुमा आकर्षक अपरिष्कृत विवरण सार्वजनिक गरे पनि पछि अडिटेड विवरणमा ठूला संशोधन आउँदा लगानीकर्ताको विश्वास घटेको छ। यो समस्या वाणिज्य बैंकदेखि विकास बैंक र लघुवित्तसम्म फैलिएको छ।
उदाहरणका लागि, हालै सार्वजनिक २५ लघुवित्तको चौथो त्रैमासको औसत नाफा २०२.०५ प्रतिशतले बढेको देखिए पनि, यसको मुख्य कारण नियामकीय लचकता—जस्तै कर्जा नोक्सानी सीमा घटाउने र कर्जा पुनर्संरचना सुविधा दिनु—हो। अघिल्लो वर्ष यिनै संस्थाहरूको नाफा घट्नुमा कडाइका प्रावधान जिम्मेवार थिए।
यसरी, पछिल्ला वर्षहरूमा वित्तीय विवरणलाई शेयर मूल्य बढाउने उपकरणको रूपमा दुरुपयोग गर्ने प्रवृत्ति र नियामकीय उतारचढावका कारण लगानीकर्ताले वित्तीय विवरणलाई नै नजरअन्दाज गर्न थालेका छन्। अहिले बजारमा यस्तो अवस्था छ जहाँ नराम्रो विवरण आउँदा मूल्य घट्नु स्वाभाविक मानिन्छ, तर राम्रो विवरण आउँदा समेत मूल्य घट्नु अस्वाभाविक र चिन्ताजनक मानिन्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij