
काठमाडौँ । नेपाल चीन जोड्ने प्रमुख दुई नाका बन्द भएका छन् । नेपाल चीनबीचको तातोपानी नाका कोदारीमा पहिरो गएपछि बन्द छ भने अर्को प्रमुख नाका रसुवा बाढीका कारण पुल नै बगाएपछि बन्द छ ।
तातोपानी तर्फको कोदारी नाकामा पहिरो पन्छाउने काम भइरहेको तातोपानीका एक व्यापारीले बताएका छन् । विगत १० दिन यतादेखि तातोपानी नाका पहिरोका कारण बन्द छ ।
यता रसुवाको मितेरी पुल बाढीले बगाएको पुल बनाउन नसक्दा रसुवा तर्फको भन्सार नाका ठप्प छ । चीन तर्फ जोड्ने नाकाहरू तातोपानी र रसुवा नाका बन्द हुँदा व्यवसायीलाई ठुलो मर्का परेको छ । प्रमुख चाडहरू नजिकिँदै गर्दा चीनबाट आयात हुने विभिन्न मालवस्तुहरू लोडेड गाडीहरू चीनतर्फ अडकिएर बसेका छन् । रसुवामा बाढी आएपछि त्यहाँ अडकिएका गाडी तातोपानी नाकाबाट ल्याउन खोज्ने व्यापारीहरू दोहोरो मारमा परेका छन् ।
रसुवाको मितेरी पुल अस्थायी समाधानको रूपमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । तर यो पनि दशैँ अघि हुने सम्भावना कम रहेको त्यहाँका एक स्थानीयले बताएका छन् ।
चडपर्वको मुखमा आएर चीनबाट आउने मालवस्तु ल्याउन व्यापारीहरूलाई समस्या भइरहेको छ । व्यापारीहरूका अनुसार यसबाट उपभोक्तालाई पनि समस्या हुने छ । साथै मालवस्तुहरू महँगिने अनुमान गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij