Logo

Aug 13 2025 | २०८२, साउन २८गते

Aug 13 2025 | २०८२, साउन २८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २८ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २८ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २८ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड ,लाभांश क्षमता १४.११ प्रतिशत

    काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रगति गरेको छ ।  बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ८५ करोड ६३ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा  १३३.९५ प्रतिशतले बढेको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ थियो।

    यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.९२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९७ करोड ६२ लाख रुपैयाँ थियो ।

    यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो। कम्पनीको संचालन मुनाफा पनि ५४ करोड ३० लाखबाट बढेर ८९ करोड २१ लाख पुगेको छ।

    शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा २०५ प्रतिशतले वृद्धि, खर्च नियन्त्रणले नाफामा सकारात्मक प्रभाव

    काठमाडौं ।शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ। कम्पनीले आर्थिक वर्षको अन्त्यसम्ममा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षकै सोही अवधिको तुलनामा २०५.८५ प्रतिशतले बढी हो।

    बुधबार सुनको मूल्य १ लाख ९६ हजार ७०० रुपैयाँ कायम

    काठमाडौँ । आज बुधबार सुनको मूल्य १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँमात्रै घटेको छ । 

    यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ।  मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रि-ओपन सेसन : नेप्से परिसूचक ३ अंकले वृद्धि, ४७ स्टकमा सक्रिय कारोबार

    काठमाडौँ ।बुधबार नेप्से परिसूचक प्रि-ओपन सेसनमा करिब २.८१ अंकले बढेर २७९९.०६ विन्दुमा पुगेको छ। अघिल्लो दिन अर्थात मंगलबार नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा बन्द भएको थियोयस सेसनमा सेन्सेटिभ इण्डेक्सले पनि ०.२५ अंकको सुधार देखाएको छ। प्रि-ओपन सेसनमा ४७ वटा स्टकमा १०५ पटक कारोबार हुँदा कुल ४१ लाख २७ हजार ९३ रुपैयाँ बराबर १० हजार ७५ कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये २१ स्टकको मूल्य बढ्दा, २६ स्टकको मूल्य घटेको देखिएको छ।

    २५ दिने भाकामा राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ ।बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले साउन २८ गते २५ दिने भाकामा राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।  राष्ट्र बैंकले २५ दिन अवधिका लागि उठाउन लागेको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ २२ गते फिर्ता पाउने जनाएको छ । 

    ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

    लगानीकर्ता संघसंगठनद्वारा आईजीन नम्बर निर्देशिका तत्काल स्वीकृत गर्न माग, संस्थापक शेयर बिक्रीमा दुरुपयोग रोक्न जोड

    काठमाडौँ ।पूँजी बजारका पाँच प्रमुख लगानीकर्ता संघसंगठनले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) सम्बन्धी निर्देशिकाको मस्यौदा तत्काल स्वीकृत गर्न आग्रह गरेका छन्। उनीहरूले यसलाई पूँजी बजारलाई पारदर्शी, स्थिर र विश्वसनीय बनाउने ’दूरदर्शी’ कदमका रूपमा स्वागत गरेका छन्।

    संघसंगठनहरूले दोस्रो बजारमा केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलेमतोमा एउटै आईजीन नम्बरको गलत प्रयोग गरी, संस्थापक शेयर लकइन अवधि नखुल्दै उच्च मूल्यमा बिक्री गर्ने दुरुपयोग भइरहेको आरोप लगाएका छन्। यस्तो क्रियाकलाप रोक्न दुईवटा आईजीन नम्बर प्रयोग गर्नुपर्ने उनीहरूको माग छ।

    निकिता पौडेलद्वारा गृहमन्त्री लेखकमाथि न्यायिक प्रक्रियामा हस्तक्षेपको आरोप, अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी

    काठमाडौं । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले लामिछानेविरुद्ध मुद्दा अगाडि बढाउँदा गृहमन्त्रीकै निर्देशनमा अदालतको आदेश रोकिएको र राजनीतिक दबाबमा न्यायिक निर्णय प्रभावित भएको दाबी गरिन्।

    शेयर बजार : नेप्से परिसूचक ६.२८ अंकले घटेर २७८९.९६ बिन्दुमा, करिब ६ अर्ब रुपैयाँको कारोबार

    काठमाडौं । साताको कारोबार दिन बुधबार (साउन २९ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से ६.२८ अंकले घटेर २७८९.९६ विन्दुमा पुगेर बन्द भएको हो, जसले बजारमा ०.२२ प्रतिशतको गिरावट देखाएको छ।आज कूल ६ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका कूल १ करोड ५५ लाख ७८ हजार ३०४ कित्ता सेयर किनबेच भएका छन्।आज १०१ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १४६ कम्पनीका सेयर घटेका छन्। २ कम्पनीको मूल्य भने यथावत् छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij