
काठमाडौँ । पाँच औँले हातको निशान चुनाव चिन्ह भएको नेपाल सद्भावना पार्टी पूर्व मन्त्री अनिल कुमार झाको नेतृत्वमा पुनर्गठन भएको छ ।निर्वाचन आयोगले उनको नेतृत्वको नेपाल सदभावना पार्टीको मान्यता दिएपछि झाले एक पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रूपमा यसको जानकारी दिएका हुन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर नेता झाले सद्भावना पार्टी पुनर्गठन गरेका हुन् ।विगतमा मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय रहेको थियो ।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । झा खानेपानीमन्त्री समेत भए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।उनी पुनः लोसपा छाडेर सद्भावना पार्टीमा सक्रिय भएका हुन् । नेपाल सदभावना परिषद्बाट पार्टी बनेको नेपाल सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका झाले फेरि सो पार्टीको मूल राजनीतिक आदर्शलाई अगाडि बढाउने गरी यसको पुनर्गठन गर्न विगत केही समय अघिदेखि पर्यत्नरत रहेका थिए ।
उनले सैद्धान्तिकरूपमा समावेशी करणको राजनीतिलाई सही किसिमले मूर्तिकरण गर्न सदभावना पार्टीको पुनर्गठन गरेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा यसको जिकिर गरिएको छ । यो पुनर्गठन अघि यो पार्टीले धेरै उतारचढाव र टुटफुट बेहोरेको छ । पञ्चायती व्यवस्था ढलेर स्थापना भएको बहुदलीय व्यवस्थामा भएको पहिलो निर्वाचनमा पाँच औँले हातको निशान भएको नेपाल सदभावना पार्टी राष्ट्रिय पार्टी बनेको थियो । झालाई अगामी निर्वाचनमा त्यो विरासत फर्काउने चुनौती पूरा गर्नुेपर्ने पार्टी निकटकाहरूको भनाइ रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij