
काठमाडौं । सामाजिक सञ्जालमा देखिएको विज्ञापनमार्फत नेप्से एआई नामको मोबाइल एप डाउनलोड गरेपछि एक व्यक्तिको बैंक खाताबाट रु २८ लाख ६१ हजार चोरी भएको छ। सेयर बजारको विश्लेषण गर्ने भन्दै प्रचार गरिएको उक्त एप इन्स्टल गरेलगत्तै ह्याकरहरूले पीडितको मोबाइलमा रिमोट एक्सेस लिई सम्पूर्ण बैंक रकमसहित मोबाइलमा रहेको डाटा र एपहरू मेटाइदिएका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा उजुरी दर्ता भएको यो घटना, नेप्से कारोबार र एआई एपको नाममा भएको पहिलो ठगी हो। सीआईबीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, एप आधिकारिक प्ले स्टोरमा उपलब्ध नहुने तर तेस्रो पक्षको लिंकबाट डाउनलोड गर्न लगाइने, त्यसपछि ओटीपी र बैंक विवरण मागी मोबाइल डिभाइस नै ह्याक गर्ने प्रवृत्ति बढ्दै गएको छ।
नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेका अनुसार, सेबोनमा यस सम्बन्धी कुनै औपचारिक उजुरी परेको छैन, तर सामाजिक सञ्जालमार्फत जानकारी आएको छ। आवश्यकता परेमा सीआईबीसँग सहकार्य गर्ने तयारी रहेको उनले बताए।
विगतमा बैंकिङ कसुरका उजुरी धेरै दर्ता भए पनि यो नयाँ प्रकारको साइबर ठगी हो। गत आर्थिक वर्ष २०८१/८२ मा मात्र काठमाडौं प्रहरी परिसरमा दर्ता भएका १२,९१५ उजुरीमध्ये आधाभन्दा बढी बैंकिङ कसुरसँग सम्बन्धित थिए।
नेप्से एआई ठगीको कार्यविधि
– नक्कली विज्ञापनमार्फत एप डाउनलोड गर्न लगाइने
– एप गुगल प्ले वा एप्पल स्टोरमा नभई तेस्रो पक्षको वेबसाइटबाट उपलब्ध गराइने
– मोबाइलमा रिमोट एक्सेस लिएर बैंकिङ एप खोली पासवर्ड, OTP लगायत संवेदनशील जानकारी चोरी गर्ने
– खातामा रहेको रकम केही मिनेटमै आफ्नो खातामा सार्ने र मोबाइल डाटा मेटाउने
सावधानीका उपाय
– बैंक खाता, पासवर्ड, OTP जस्ता गोप्य जानकारी कसैलाई नदिने
– ‘ग्यारेन्टी नाफा’ वा ‘कुनै जोखिम छैन’ जस्ता प्रलोभनमा नपर्ने
– आधिकारिक एप स्टोर बाहेक अन्य स्रोतबाट एप डाउनलोड नगर्ने
– टू–फ्याक्टर अथेन्टिकेसन र पासवर्ड समय–समयमा परिवर्तन गर्ने
– अपरिचित व्यक्तिलाई AnyDesk, TeamViewer जस्ता रिमोट एक्सेस नदिने
– शंका लागेमा तुरुन्त बैंक वा साइबर ब्युरोसँग सम्पर्क गर्ने
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij