
काठमाडौँ । राजस्व अनुसन्धान विभागले ८६४०० थान भेप भन्सार चोरी पैठारी गर्ने कार्यमा प्रमुख भूमिका खेलेको ठहर गरी रमेश शेर्पा र विजय शेर्पा विरुद्ध राजस्व चुहावट कसुरको मुद्दा दायर गरेको छ । विभागले सिल्क ग्रुप प्रालि तथा उक्त प्रालि अन्तर्गत सात प्रालि र सिल्क ग्रुप प्रालिका रमेश शेर्पासहित १० जनालाई प्रतिवादी बनाइ ललितपुर जिल्ला अदालतमा साउन २९ गते मुद्दा दायर गरेको जनाएको हो ।
२०८१ साल पुस २२ गते ८६४०० थान इलेक्ट्रिक सिगरेट भेप बरामद गरी तत्सम्बन्धी अनुसन्धानबाट उनीहरूको मुख्य भूमिका ठहर गरी मुद्दा दायर गरिएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रतिवादी रमेश शेर्पा र विजय शेर्पाहरू उपर बीस करोड पन्ध्र लाख अडचालीस हजार नौसय सत्र रुपैया बिगो कायम गरिएको छ । विभागको गोदाममा रहेको २० करोड १५ लाख ४८ हजार ९ सय १७ बराबरको भेप जफत गरी बिगोको शतप्रतिशत जरिवाना माग दाबी गरिएको जनाइएको छ ।
८६४०० भेप लुकाइ छिपाइ राख्न प्रयोग भएको गोदामका सञ्चालक महेश प्रसाद पाठक र र त्यसमा सहयोग गर्ने सिल्क गु्रपका कर्मचारी सन्तोष पराजुलीलाई राजस्व चुहावट ऐन २०५२को दफा २३ बमोजिम प्रतिवादीलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको विभागले जनाएको छ ।
यसैगरी प्रतिवादी सिल्क ग्रुप प्रालि र अन्तर्गतका पाँच प्रालिले ३८९२४ थाप भेप बिल बीजक जारी नगरी बिक्री गरेको कसुर स्थापित भएको, सिल्क ग्रुप प्रालि र अन्तर्गतका सात प्रालिहरूले भन्सार चोरी पैठारी गरी ल्याएको ३ लाख १६ हजार ३ सय १५ थान भेपको स्थानीय खरिद गरेको नकली कारोबार देखाइ गरेको ठहर गर्दै विभागले राजस्व चुहावट, मूल्य अभिवृद्धिकर चुहावट, चोरी पैठारी गरेकोले ५७ करोड ८ लाख ४सय ५३ रुपैया बिगो कायम गरेको जनाएको छ ।साथै बिगो बमोजिमको शतप्रतिशत जरिवानासमेत हदैसम्मको कैद सजाय मागदाबी लिइएको विभागले जनाएको छ ।
यसरी राजस्व चुहावट कसुरमा प्रतिवादीहरूबाट ८७ करोड ३१ लख २३ हजार ८ सय २८ रुपैया ५० पैसा बिगो कायम र त्यसको शतप्रतिशत जरिवाना गरी १ अर्ब चौहत्तर करोड बैसठी लाख सत्चालीस हजार ६सय ५७ रुपैया मागदाबी सहितको मुद्दा दायर गरिएको उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij