Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

भदौमा महिनामा अधिकांश वाणिज्य बैंकको ब्यादर स्थिर, आठले घटाए

भदौमा महिनामा अधिकांश वाणिज्य बैंकको ब्यादर स्थिर, आठले घटाए

  • काठमाडौँ । भदौ महिनामा अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर रहेको छ । साउनको तुलनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका बेला ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा साउनको तुलनामा भदौमा ब्याजदर घटेको हो।

    साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ ।साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौ महिनाको लागि यो ५.५७ प्रतिशतमा कायम भएको छ ।

    भदौमा ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई छन् ।

    व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका ११ बैंकहरूमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंक छन् । एक  बैंक प्रभुले सो ब्याजदर  बढाएको छ ।

    छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । सामान्य बैंकिङ सिद्धान्त अनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।

    यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दबाब दिएपछि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत रहेको छ ।

    असार महिनामा भएको उच्च पूँजीगत खर्चले निक्षेप बढेपनि  कर्जा प्रवाहमा सुस्तता कायमै रहेको देखिएपछि बैंकहरुले भदौमा पनि ब्याजदर घटाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij