Logo

Aug 19 2025 | २०८२, भदौ ३गते

Aug 19 2025 | २०८२, भदौ ३गते

images

प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सुरु भयो नाडा अटो शो २०२५

प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सुरु भयो नाडा अटो शो २०२५

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को १७औँ संस्करण नाडा अटो शोको उद्घाटन गरेका छन् ।मंगलबार देखि काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको नाडा अटो शो २०२५को  प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।समारोहको उद्घाटन प्रधानमन्त्रीले रोबोटिक्स एसोसिएसन अफ नेपालको सहयोगमा आईओटी-बेस्ड प्रविधिबाट पानसमा बत्ती बालेर गरेका थिए ।

    nada4.jpeg

    नाडाका  अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण योगदान पु¥याएको  बताएका छन् । अध्यक्ष चौधरीले यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको बताए ।  साथै चौधरीले  ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको दाबी गरे ।

    nada2.jpeg

    नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताउँदै उनले  भने  ‘नेपालमा वार्षिक बिक्री हुने कुल गाडीमध्ये करिब ४० प्रतिशत यही थलोबाट बुकिङ हुने गरेको छ । यसले हाम्रो रोजगार र राजस्वमा ठूलो सहयोग पु¥याउँछ ।’

    nada3.jpeg
    युवा शक्ति पलायन देशको प्रमुख चुनौती भएको चासो व्यक्त गर्दै अध्यक्ष चौधरीले नाडाले सीप विकास र रोजगारी सिर्जनामार्फत यसलाई रोक्न पहल गरिरहेको विश्वास दिलाए ।

    nada5.jpeg

    उनले भने ‘हामी सीप पनि दिन्छौं, रोजगार पनि दिन्छौं । युवालाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।’ उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष चौधरीले सरकारले ल्याएको पछिल्लो बजेटको प्रशंसा गरे । 

    nada.jpeg

    उद्घाटन कार्यक्रममा सरिक भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिँदै अध्यक्ष चौधरीले भने, ‘यो मेरो नाडाको दश वर्षे कार्यकाल, एक दशकमा मैले नदेखेको बजेट हो । यो स्वागतयोग्य छ र हामीले हर्षोल्लासका साथ मनाउनुपर्छ ।’
    उनले सरकारका सकारात्मक कदमलाई प्रोत्साहन गर्नुपर्ने र आलोचना मात्र गर्ने परिपाटीबाट माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए ।

    nada6.jpeg

    यस वर्षको अटो शोमा नयाँ आकर्षणहरू थपिएको जानकारी दिँदै चौधरीले पहिलो पटक ह्युमोनोइड रोबोट र दक्षिण एसियामै पहिलो पटक ’भर्टिकल फ्लाइङ ट्याक्सी ’ सार्वजनिक गरिएको बताए । यसैगरी  ‘मेड इन नेपाल’ पविलियनमार्फत टायर, ब्याट्री, लुब्रिकेन्ट्स जस्ता स्वदेशमै उत्पादित पार्टपुर्जालाई प्रोत्साहन गरिएको उनले जनाए ।  सवारी खरिदमा फाइनान्सिङको समस्या रहेको स्वीकार्दै उनले आगामी मौद्रिक नीतिको समीक्षाबाट यसको समाधान निस्कनेमा विश्वास व्यक्त गरे ।उनले नाडाले उपभोक्ता, व्यवसायी र सरकार सबैको हितमा काम गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

    उद्घाटन गरेका प्रधानमन्त्री ओलीले   नेपाल विकासको दौडमा पछाडि परेकोले अब अरूभन्दा छिटो दौडनुपर्ने बेला आएको बताए । उनले देशको समग्र विकासका लागि सबै क्षेत्रले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए ।  उनले संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्रीको पुस्तक 'माई भिजन'बाट सिंह र हरिणको कथा सुनाउँदै विकासको गति बढाउनुपर्ने आवश्यकता औंल्याए ।

    उनले भने, 'जंगलमा सिंहले सबैभन्दा छिटो कुद्ने हरिणभन्दा छिटो कुद्न सकेन भने भोकै मर्छ, र हरिणले सबैभन्दा छिटो कुद्ने सिंहभन्दा छिटो कुद्न सकेन भने मारिन्छ । बाँच्नका लागि सबैले छिटो दौडनैपर्छ । हामी विकासमा पहिल्यै पछाडि छुटिसकेका छौं, त्यसैले हामीले अरूभन्दा छिटो दौडनुपर्छ ।'

    सन् १९३९ मा अमेरिकी राष्ट्रपति रुजवेल्टले पहिलो पटक टेलिभिजनको उद्घाटन गर्दा त्यो असम्भव जस्तो लागे पनि आज सामान्य भइसकेको प्रसङ्ग जोड्दै उनले भने, 'नेपालमा २०४२ सालमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन आउँदा ठूलो कुरा थियो, आज हामी स्मार्ट युगमा छौं । हाम्रा स्कुले विद्यार्थीहरूले मोटरसाइकल र स्याटलाइट बनाइरहेका छन्, यो खुसीको कुरा हो ।'

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय सरकारले लिएका नीतिगत सुधारका कारण अर्थतन्त्रमा उत्साह थपिएको बताए ।

    उनले सरकारले हालै लागू गरेको युरो सिक्स मापदण्डका कारण व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि केही समय दिन सरकारसँग आग्रह गरे ।

    कार्यक्रममा नाडाको मुखपत्र नाडा अटो न्युज को ५०औं अंकको पनि विमोचन गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij