
बुटवल । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गराउन गठित संघर्ष समितिले भारत भ्रमण बुटवलबाट गर्न आग्रह गरेको छ ।पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको गौतमबुद्ध विमानस्थलबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भैरहवाबाट गर्न गराउन समितिले आग्रह गरेको हो ।
गठित संघर्ष समितिले सो आग्रहसहितको पत्र प्रधानमन्त्रीलाई पठाएको छ ।उद्घाटनको तीन वर्ष पुगिसक्दा समेत नियमित र पर्याप्त अन्तर्राष्ट्रिय उडान नभएपछि सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित संघर्ष समितिले इमेलमार्फत प्रधानमन्त्रीलाई उक्त पत्र पठाएको हो ।
पत्रमा भनिएको छ ।‘सम्माननीय प्रधानमन्त्री भारत भ्रमण जाँदा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न विशेष आग्रह छ ।’ साथै पत्रमा भ्रमणमा विमानस्थल सञ्चालनका लागि गर्नुपर्ने कुटनीतिक पहल गर्न आग्रह समेत गरिएको छ ।
अर्बौको लगानीमा निर्माण भएको, राष्ट्रिय गौरवको आयोजनालाई नेपाल सरकारले अनिवार्य रुपमा दिगो संचालन गर्नका लागि सरकारलाई दबाब दिने र प्रधानमन्त्री भैरहवा हुँदै दिल्ली प्रस्थान गर्दा सकारात्मक सन्देश जाने भएकाले उक्त आग्रह गरिएको नगर प्रमुख खाँले जनाएका छन् ।
पूर्ण क्षमताका साथ सञ्चालन नहुँदा लुम्बिनी प्रदेशकै सिंगो विकास र समृद्धिको ढोका बन्द भएको चिन्ता व्यक्त गरिएको छ । ऋण लगानीमा निर्माण भएको उक्त विमानस्थलबाट नेपाल सरकारले अपेक्षित रुपमा लाभ लिन नसकेको जनाइएको छ ।
सञ्चालनमा नआए निजी क्षेत्रबाट पर्यटन, उद्योग जस्ता क्षेत्रमा भएको अर्बौंको लगानी समेत डुब्ने चिन्ता व्यक्त गरिएको छ ।लगानीकर्ताहरु बैंकको ब्याज समेत तिर्न नसक्ने जटिल अवस्था उत्पन्न भएको जनाइएको छ ।
संघर्ष समितिका संयोजक नगर प्रमुख खाँले यसबारे सरकारले समेत स्पष्ट धारणा एवं जानकारी नगराएकोले थप अन्यौल सिर्जना हुँदा जनस्तरमा आक्रोस बढ्दै गएको बताए ।विमानस्थल नियमित संचालनका लागि निजी क्षेत्रका विभिन्न संघसंस्था तथा नगरवासी तथा सरोकारवालाबाट पटक–पटक विभिन्न आन्दोलन र ध्यानाकर्षणका कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । तर माग सम्बोधन नभएको पत्रमा भनिएको छ । विमानस्थल महिनौंसम्म अन्तर्राष्ट्रिय उडानविहीन हुँदा पर्यटन व्यवसायीमा निराशा छाएकाले रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख सम्मिलित टोलीले छिटै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डेलिगेशन जाने निर्णयसमेत गरिएको छ ।
विमानस्थललाई नियमित रुपमा संचालनका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएका विदेशी गुम्बाहरुसँग छलफल गरी सम्बन्धित राष्ट्रका राजदुतहरुसँग समेत समन्वय गर्न समितिले प्रधानमन्त्रीसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विमानस्थलमा निर्माण गरिएको कार्गो समेत संचालनमा जोड दिएको छ ।
संघर्ष समितिका सदस्य महेन्द्रकुमार श्रेष्ठले जनाए अनुसार कार्गो संचालनमा ल्याइए रुपन्देही लगायत तराई र नेपालका विभिन्न पहाडी तथा हिमाली जिल्लाका कृषि तथा जडिबुटी विदेश निर्यात हुने प्रचूर सम्भावना रहेको छ ।काठमाडौंमा रहेका ठूला पर्यटन व्यवसायीको दबाबमा परेर गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा सरकारको चासो नभएको स्थानीयको आरोप छ ।
सन् २०२५ को जनवरीदेखि मार्चसम्म ३ महिनामा भने अन्तर्राष्ट्रिय उडान सन्तोषजन थियो । उक्त अवधिमा २९९ अन्तर्राष्ट्रिय उडान भएका थिए । त्यो अवधिमा काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत भइरहेकाले नेपाल एअरलाइन्स, जजिरा, फ्लाई दुबई र थाई एअर एसियाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेका थिए । उक्त ३ महिनामा मात्रै १५ हजार १४८ यात्रुले विमानस्थल प्रयोग गरेका थिए ।
२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको यो विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी २५ मिनेटमै पुगिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्धमार्गी विदेशी पर्यटक भित्राएर धार्मिक पर्यटनको प्रवेशद्वार बनाउने अपेक्षा गरिएको थियो । तर, विदेशी पर्यटकको आगमन शून्य भएपछि धेरै होटलहरू घाटामा गएका छन् । कतिपय होटेलहरु ऋण तिर्न नसकेर बिक्रि भइसकेका छन् ।
विमानस्थलमा महाप्रबन्धक प्रताप तिवारीले गत अप्रिलदेखि अन्तर्राष्ट्रिय उडान नभएको बताएका छन् । आउने अक्टुबर २६ देखि थाई एअरले साताको दुई उडान सुरु गर्ने तयारी गरेको उनले जनाए ।
विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार दैनिक ५० अन्तर्राष्ट्रिय उडान क्षमता र वार्षिक ३० लाख बढी यात्रु प्रस्थान गर्नसक्ने क्षमता रहेको यो विमानस्थलमा एकपटकमा ५ वटा न्यारोबडी वा एउटा वाइडबडी र ३ न्यारोबडी जहाज उडान र पार्किङ गर्नसक्ने क्षमता छ ।
विमानस्थलको आईसीपी १ निर्माणमा ६ अर्ब ६३ करोड भुक्तानी भएको छ भने आईसीपी २ निर्माणमा ४५ लाख १५ हजार ६०९ अमेरिकी डलर र ७९ लाख ८ हजार रुपैयाँ गरी अहिलेको विनिमय दरअनुसार कूल ६३ करोड रुपैयाँ बढी भुक्तानी भएको नागरिक उडड्नयन प्राधिकरणले जनाएको छ ।
यसको निर्माण लागतमध्ये एसियाली विकास बैंकको ऋण र अनुदान तीन करोड ७० लाख अमेरिकी डलर (३७ मिलियन) अमेरिकी डलर, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ऋण करिब ११ मिलियन अमेरिकी डलर र २८.१ मिलियन अमेरिकी डलर नेपाल सरकारको लगानी भएको छ ।
विमानस्थलका लागि झण्डै एक दशकअघि पटक–पटक गरेर ४ सय ५२ बिघा जग्गा अधिग्रहण गरी साढे २२ अर्ब ६८ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको थियो ।अहिले विमानस्थलको कूल जग्गा ८ सय ६ बिघा छ । जसमा पूर्व–पश्चिम दिशामा ३ किलोमिटर लम्बाइ र ६० मिटर चैडाइको धावनमार्गसहित आन्तरिक घेरा (इन्टरफेन्स)भित्रको जगा ३१० बिघा छ । बाँकी बाहिरी घेर ( आउटर फेन्स) भित्र छ । नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप चाइनाले विमानस्थल बनाएको हो ।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमिति सदस्यहरुले रनवेभन्दा दक्षिणतर्फ भारतको सीमाभन्दा डेढ किलोमिटर उत्तरसम्म खोला आसपासको ठूलाठूला भंगालो (खाल्डा) आसपासमा आवश्यकता नै नभएको कमसल जग्गा ठूलो परिमाणमा खरिद गरी अर्बौं रकम मुआब्जा बाँड्नुका पछाडि नीतिगत र आर्थिक भ्रष्टाचार लुकेको भन्दै थप छानबिन गर्नुपर्ने माग गरेका छन् ।
महाप्रबन्धक तिवारीले सरकारी स्वामित्वका नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सले आफ्नो प्रतिस्पर्धी क्षमता बढाउन जहाज थप्नुपर्ने र केही जहाज गौतमबुद्ध विमानस्थललाई डेडिकेटेड गर्न आवश्यक जनाएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij