Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

एमाले कांग्रेसको गठबन्धनले सरकार स्थिर रहँदा कर्मचारीहरू सरुवा आतंकबाट भयभित

एमाले कांग्रेसको गठबन्धनले सरकार स्थिर रहँदा कर्मचारीहरू सरुवा आतंकबाट भयभित

  • काठमाडौँ । पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने अर्थ मन्त्रालयभित्र सरुवा आंतकले कर्मचारीहरू आतंकित हुन पुगेका छन् ।  एक सातामै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने ठेगान नभएकाले उनीहरू आतंकित हुन पुगेका हुन् ।
     अर्थमन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले सबैको ध्यान आफूतिर तानेका छन् । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको साता नबित्दै पौडेलले ६८ जना उपसचिवको सरुवा गरिदिएका छन् । 

    वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोईरालालाई पठाइ दिएका छन् । त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रुपमा कार्यरत कोईराला  थिए । मन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई अर्थमन्त्रालयमा तानेका छन् ।
    मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी परिवर्तन गरेका थिए । अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेकामा आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाएका छन् । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाइ पठाएका छन् । 

    पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए । पौडेलले निरौलालाई एक महिनामै हटाइ दिए । निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न नदिई पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो । 

    मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराई  पनि ६ महिनामै सरुवामा परे । अहिले उनलाई मन्त्रालयमा तानी भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएर पठाएको देखिएको छ ।  मन्त्री पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन् ।  

    भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएर पठाएका छन् । अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभूवन विमानस्थल भन्सार कार्यालय पठाएका छन् ।

    वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरी  उनको ठाउँमा सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरी पठाइदिएका छन्  ।  त्रिभूवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पठाइएका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिएका छन् । यसअघि यो महाशाखा प्रमुखको जिम्मा  श्रीकृष्ण नेपाललाई दिइएको थियो । 

    यसरी बजेट कार्यान्वयनको शुरुवातमै कर्मचारीतन्त्रमा अस्थिरता चरम रुपमा बढ्दा कार्यान्वयनमा धक्का पुग्ने खतरा बढेको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ । यसरी हुने फेरबदलले सरकारलाई राजस्व संकलनको लक्ष्य भेटाउन झन गाह्रो हुने पर्यवेक्षकहरू बताउँछन् । 

    मुलुकमा दुई ठूला दलहरुको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहेको भएपनि कर्मचारी प्रशासन चरम अस्थिरताको उथलपुथलबाट गुज्रिएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij