Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

गत वर्ष वाणिज्य बैंकले तिरे ३२ अर्ब ८० करोड रुपैयाँ आयकर, कुमारी बैंक सबैभन्दा धेरै कर तिर्ने, एनआइसी एसिया सबैभन्दा कम

गत वर्ष वाणिज्य बैंकले तिरे ३२ अर्ब ८० करोड रुपैयाँ आयकर, कुमारी बैंक सबैभन्दा धेरै कर तिर्ने, एनआइसी एसिया सबैभन्दा कम

  • काठमाडौं।नेपाल सरकारले कुनै पनि व्यवसायबाट भएको आयमा कर असुल्ने गर्छ। त्यसअनुसार बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो नाफाको ३० प्रतिशत आयकर स्वरूप बुझाउनुपर्छ।

    गत आर्थिक वर्षमा सरकारले जम्मा दुई खर्ब ६७ अर्ब ६० करोड १५ लाख रुपैयाँ आयकर संकलन गरेकोमा वाणिज्य बैंकहरुको योगदान मात्र १२.२६ प्रतिशत अर्थात ३२ अर्ब ८० करोड १५ लाख रुपैयाँ रह्यो। अघिल्लो वर्ष वाणिज्य बैंकहरुले २६ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ मात्र कर तिरेका थिए। गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले जम्मा ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका थिए, जसकै आधारमा कर तिरेको हो।

    कुल २० वाणिज्य बैंकमध्ये १६ बैंकले अघिल्लो वर्षभन्दा बढी कर तिरे भने ४ बैंकले कम कर तिरे। बढी कर तिर्नेमा सबैभन्दा अगाडि कुमारी बैंक रह्यो, जसले ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ कर तिर्‍यो। अघिल्लो वर्ष यस बैंकले ९९ करोड ४४ लाख मात्रै कर तिरेको थियो।

    कुमारीपछि दोस्रो स्थानमा नबिल बैंक रह्यो, जसले ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर तिर्‍यो। तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रह्यो, जसले २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ कर तिर्‍यो। चौथो स्थानमा ग्लोबल आइएमइ बैंक रह्यो, जसले २ अर्ब ५७ करोड कर तिर्‍यो भने पाँचौँ स्थानमा एभरेष्ट बैंक २ अर्ब ५३ करोड करसहित रह्यो।

    अन्य वाणिज्य बैंकहरुले बुझाएको करमा प्राइम बैंक (१ अर्ब ९१ करोड), कृषि विकास बैंक (१ अर्ब ६९ करोड), लक्ष्मी सनराइज बैंक (१ अर्ब ६५ करोड), नेपाल बैंक (१ अर्ब ६५ करोड), सिद्धार्थ बैंक (१ अर्ब ६४ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ अर्ब ६३ करोड), स्ट्याण्डर्ड चार्टर्ड बैंक (१ अर्ब ५२ करोड), एनएमबी बैंक (१ अर्ब ४१ करोड), सानिमा बैंक (९८ करोड ७९ लाख), नेपाल एसबिआई बैंक (९० करोड ७४ लाख), माछापुच्छ्रे बैंक (८९ करोड २८ लाख), हिमालयन बैंक (५७ करोड ३८ लाख) र सिटिजन्स बैंक (५४ करोड ५१ लाख) रहेका छन्।

    यस अवधिमा सबैभन्दा कम कर तिर्नेमा एनआइसी एसिया बैंक रह्यो। उसले गत आर्थिक वर्ष पाँच करोड ५१ लाख मात्रै कर तिर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ७८ प्रतिशतले कम हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij