Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

सस्तो सेयर कर्जा प्रवाह बढाउन प्रतिस्पर्धा गरिरहेका बैंकहरू

सस्तो सेयर कर्जा प्रवाह बढाउन प्रतिस्पर्धा गरिरहेका बैंकहरू

  • काठमाडौँ । सेयर बजारमा लगानी बढाउन  बैंकहरूले धमाधम ब्याजदर घटाउने नीति लिएको देखिएका छन् । बैंकहरूले लगानीकर्ताहरूलाई सस्तोमा सेयर कर्जा  दिन लागेका हुन् । अधिकांश बैंकले सेयर कर्जाका लागि दिँदै आएको न्युनतम ब्याजदर ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म राखेका छन् । अधिकतम ब्याजदर पनि ९ प्रतिशतसम्म रहेको छ ।

    बैंकिङ प्रणालीमा तरलता अधिक हुँदा बैंकहरूलाई ब्याजदर सस्तो गरेर ऋण विस्तार गर्न प्रतिष्पर्धा गर्न  परेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६ प्रतिशतमा झरेपछि बैंकहरूलाई सस्तो ब्याजदरमा ऋण दिन प्रतिस्पर्धामा उत्रिनु परेको विज्ञहरुको भनाइ छ । बैंकहरूले औपचारिक स्किम सार्वजनिक नगरे पनि स्थिर ब्याजदरमै सेयर कर्जा दिन प्रस्ताव गरिरहेका छन् । 


    पछिल्लो समय सेयर धितो कर्जाको माग बैंकमा बढ्दो क्रममा छ । गत वर्ष ११ महिनामै सेयर धितो कर्जा ३५ अर्ब रुपैयाँभन्दा बढीले बढेको देखिएको छ । सेयर  कर्जा वृद्धि अझै बढ्दै जाने र यसले बजारलाई सकारात्मक सहयोग पुग्ने पर्यवेक्षकहरूको बुझाइ छ ।
    राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा ल्याएको छ। व्यक्तिगत कर्जा सीमा २५ करोड रुपैयाँसम्म पु¥याइएको छ । साथै संस्थागत लगानीकर्ताका लागि कुनै सीमा तोकिएको छैन। यसबाट लगानी प्रवाहलाई प्रोत्साहन  भएको छ । 

    पछिल्लो समय बैंकहरूको आधार दर घट्दै गएकोले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताहरू बढ्दै गएबाट यसको पुष्टि भएको पर्यवेक्षकहरूको भनाइ छ ।कृषि विकास बैंकले न्यूनतम ५.८४ प्रतिशतदेखि अधिकतम ८.३४ प्रतिशतसम्म ब्याजदरमा मार्जिन लेण्डिङ कर्जा दिँदै आएको बेला एभरेष्ट बैंकले ६.२७ प्रतिशतदेखि ८.२७ प्रतिशतसम्ममा सेयर कर्जा दिइरहेको छ ।

    राष्ट्रिय वाणिज्य बैंकले ६.३ देखि ६.८ प्रतिशतसम्म, सिद्धार्थ बैंकले ६.३४ देखि ९.५९ प्रतिशतसम्म, सिटिजन्स बैंकले ६.३५ देखि ९.३५ प्रतिशतसम्मको ब्याजदरमा सेयर कर्जा प्रवाह गर्दै आएको छ ।यस्तै ग्लोबल आइएमई बैंकले न्युनतम ६.७८ देखि अधिकतम ८.७८ प्रतिशतसम्म ब्याजदरमा सेयर कर्जा दिइरहेको छ । प्राइम बैंकले ६.६२ देखि ११.६२ प्रतिशतसम्म सेयर कर्जा दिँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.७८ प्रतिशतदेखि ८.७८ प्रतिशतसम्म सेयर कर्जा उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij