Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १० मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ १० मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १० मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    भारतको निर्यात संकटमा : अमेरिकाले ५०% कर लगाउँदा जीडीपीमा ०.६% गिरावटको आशंका

    काठमाडौँ । अमेरिकाले मंगलबार भारतमाथि थप २५% आयात शुल्क लगाउने आधिकारिक सूचना जारी गरेको छ। भारतीय समयअनुसार यो कर भोलि, अगस्ट २७ बिहान ९ः३१ बजेदेखि लागू हुने भएको हो।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले यसअघि अगस्ट ६ मा भारतले रूसबाट तेल खरिद गरेको कारण जरिवाना स्वरूप यो कर घोषणा गरेका थिए। अगस्ट ७ देखि नै भारतमा २५% कर लागू भइसकेको थियो। नयाँ निर्णयसँगै अब अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर ५०% सम्म पुग्नेछ।

    मंगलबार जारी आदेशमा उल्लेख छ— “सूचीमा समावेश गरिएका सामानहरू भारतबाट अमेरिका भित्र्याइए वा गोदामबाट बाहिर निकालिँदा नयाँ कर लागू हुनेछ।”

    पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

    काठमाडौँ।पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा आज अर्थ मन्त्रालयमा छलफल भएको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको निजी सचिवालयले जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भारबहन व्यवस्थापन तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा नियमित उडानका उपाय पहिचान तदनुरुप गर्ने सन्दर्भमा छलफल भएको हो ।

    छलफलमा अर्थमन्त्री पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत सहभागी हुनुहुन्थ्यो ।

    राष्ट्र बैंकद्वारा ४३ करोड थान नयाँ हजार दरका नोट छाप्ने प्रक्रिया सुरु

    काठमाडौँ।नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ। केन्द्रीय बैंकले यसपटक करिब ४३ करोड थान नयाँ नोट छाप्न लागिरहेको हो।

    यसका लागि राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै इच्छुक कम्पनीलाई प्रस्ताव पेस गर्न आग्रह गरेको छ। इच्छुक कम्पनीले आउँदो अक्टोबर ९ तारिखभित्र बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने स्थान राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभाग तोकिएको छ।

    प्रस्ताव पेस गर्ने कम्पनीले २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्नेछ। छनोट भएका कम्पनीले नोटको डिजाइन, छपाइदेखि आपूर्तिसम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    शेयर बजार : नेप्से परिसूचक ७.६ अंकले बढेर २७६८.८६ बिन्दुमा, करिब ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार

    काठमाडौँ । साताको कारोबार दिन सोमबार (भदौ १० गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.६ अंकले बढेर २७६८.८६ बिन्दुमा बन्द भएको छ, जसले बजारमा ०.२७ प्रतिशतको वृद्धि देखाएको छ।

    आज कूल ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता सेयर किनबेच भएका छन् भने कूल ४५ हजार ११६ कारोबार सम्पन्न भएका छन्।

    आज १०१ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १४९ कम्पनीका सेयर घटेका छन्। १ कम्पनीको मूल्य यथावत् रहेको छ।

    नेपाल आउने र जानेले ५ हजार अमेरिकी डलर बराबर नगद लान लैजान पाउने

    काठमाडौँ । नेपाल आउने व्यक्तिले  ५ हजार अमेरिकी डलरसम्म नगद लिएर आउन र जान पाउने भएका छन् ।उनीहरूलाई यसका लागि भन्सार घोषणा गर्नुपर्ने आवश्यकता नपर्ने भएको हो ।

     नेपाल राष्ट्र बैंकले ५ हजार डलरसम्म नगद नेपालमा ल्याउन वा लैजान भन्सार घोषणा गर्नु नपर्ने जनाएको छ ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबर अन्य विदेशी मुद्रा सहज रूपमा नेपालमा ल्याउन वा लैजानसक्ने व्यवस्था गरेको जनाएको छ ।

    त्यो भन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भन्सार कार्यालयमा खुलाउनुपर्ने जनाइएको छ । राष्ट्र बैंककाअनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र १२ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ९९९क० को आधारमा कायम गरिएको हो ।

    भारतीय रुपैयाँको प्रयोगसम्बन्धी प्रतिबन्धहरूबारे समेत यस्तै राष्ट्र बैंकले राजपत्रमा उल्लेख भएअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० का नोट नेपालमा प्रयोग गर्न नपाइने जनाएको छ ।  राष्ट्र बैंकले २००, ५०० र २००० भारतीय रुपैयाँ दरका नोट नेपाल ल्याउन, साथमा राख्न वा कारोबार गर्न नपाउने स्मरण गराएको छ ।

    मंगलबार सुनको मूल्य  तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम

    काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य  तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेर  हिन्दु महिलाको पर्व तिजको दिन सुनको मूल्य सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम कायम भएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

    मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा तिजको दिन आज सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।

    २० दिनभित्र दुई ठूला अटो शो सम्पन्न : नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोले ताने लक्ष हजारौं अवलोकनकर्ता

    काठमाडौँ । पछिल्ला २० दिनको अन्तरालमा नेपालमा दुईवटा ठूला अटो प्रदर्शनी सम्पन्न भएका छन्। साउन २१ देखि २६ गतेसम्म नाइमा (नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ र भदौ ३ देखि ८ गतेसम्म नाडा (नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल) ले आयोजना गरेको १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ सम्पन्न भइसकेका छन्।

    नाइमा मोबिलिटी एक्स्पोमा एक लाखभन्दा बढी अवलोकनकर्ता पुगेका थिए भने नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शक आकर्षित भएका आयोजकले जनाएका छन्। नाइमा एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए भने नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

    धितोपत्र बोर्डको सूचना : Pre-IPO नाममा सर्वसाधारणलाई शेयर बिक्री नगर्न आग्रह

    काठमाडौँ — नेपाल धितोपत्र बोर्डले ‘Pre-IPO’ नाम दिई सर्वसाधारणलाई शेयर बिक्री नगर्न तथा नगराउन सार्वजनिक सूचना जारी गरेको छ।

    सोमबार जारी सूचनामा बोर्डले हाल प्रचलनमा आएको ‘Pre-IPO’ नाम प्रयोग गरी सर्वसाधारणसँग शेयर बिक्री वा खरिद गर्न लगाउने गतिविधि कानूनी रुपमा अवैध भएको स्पष्ट पारेको छ। त्यसैले यस प्रकारका गतिविधिमा संलग्न नहुन सर्वसाधारण लगानीकर्तालाई सचेत रहन आग्रह गरिएको छ।

    बोर्डले शेयर बजारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन यस्तो कार्य नगर्न र नगराउन सम्बद्ध पक्षलाई निर्देशन दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij