
काठमाडौं।मङ्गलवार शेयर बजार मापक नेप्से सूचक १९.८९ अंकले घटेर २७४१.९७ अंकमा ओर्लिएको छ। गत बिहीवारदेखि लगातार घटिरहेको सूचक भदौ लागे यता मात्रै १३ कारोबार दिनमध्ये ७ दिनमा तल झरेको छ भने ६ दिन बढेको छ।
नेप्सेले दैनिक कारोबारमा हुने उतारचढावलाई संकलन गरी समग्र बजारको स्थिति सूचकमार्फत देखाउने गर्छ। धेरै कम्पनीको मूल्य बढे सूचक बढ्ने र धेरै घटे सूचक घट्ने हुँदा लगानीकर्ताले सूचकलाई आधार बनाएर बजारको अवस्था मूल्याङ्कन गर्छन्।
सन् २०२२ देखि २०२५ सम्मको अध्ययनले देखाएको छ कि बढ्ने दिनभन्दा घट्ने दिन बढी भए पनि अन्तर खासै ठूलो छैन। २०२२ मा २४२ कारोबार दिनमध्ये १४० दिन घट्दा १०२ दिन मात्रै बढेको थियो। २०२३ मा १२२ दिन घटेर १०५ दिन बढ्यो भने २०२४ मा १२० दिन घट्दा ११२ दिन बढ्यो। यस्तै, २०२५ लागे यता गत बिहीवारसम्म १५८ कारोबार दिनमा ७८ दिन घट्दा ८० दिन बढेको छ। प्रतिशतमा हेर्दा ४९.३७ प्रतिशत घट्दा ५०.६३ प्रतिशत बढेको देखिन्छ।
विशेषगरी छोटो अवधिमा कारोबार गर्नेहरूका लागि बजार अस्थिर देखिए पनि केही दिन शेयर होल्ड गर्ने लगानीकर्ताले बारम्बार मौका पाएका छन्। किनकि सूचक तल झरेपछि छिट्टै माथि जाने प्रवृत्ति देखिन्छ। त्यसैले दीर्घकालीन लगानीकर्ताले ठूलो नोक्सानी बेहोर्नु परेको देखिँदैन। तर बिक्री गर्ने समय सीमित हुने भएकाले बजार घटेकोमा लगानीकर्तामा चिन्ता देखिनु स्वाभाविक मानिन्छ।
यसरी विगत चार वर्षको तथ्याङ्कले देखाउँछ—शेयर बजारमा घट्ने दिन बढ्ने दिनभन्दा बढी भए पनि सूचक छोटो अवधिमा छिट्टै बढ्ने र घट्दा भने ढिलो गतिमा घट्ने प्रवृत्ति कायम छ। यही कारणले बजार लामो अवधिमा पूर्णत: नकारात्मक नभई उतारचढावयुक्त देखिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij