
काठमाडौं । २०८१ माघयता करिब एक दर्जन कम्पनीले प्राथमिक सेयर (IPO) निष्कासन गरिसके पनि तिनका संस्थापक सेयर भने अहिलेसम्म सूचीकृत हुन सकेका छैनन् । सीडीएस एन्ड क्लियरिङ हाउस (CDSC) को दुईवटा आईजिन (ISIN) प्रस्तावका कारण १ अर्ब ६१ करोड १७ लाख ८७ हजार ४५६ कित्ता संस्थापक सेयर सूचीकृतको पर्खाइमा रहेका छन् । यसले नयाँ कम्पनीदेखि लगानीकर्तासम्म सबैलाई प्रभावित पारिरहेको छ।
संस्थापक सेयर सूचीकृतमा ढिलाइ हुनुका कारण बजारमा अनावश्यक अन्योल बढेको छ । सर्वसाधारणमा जारी भएका सेयर सीडीएससीमा सूचीकृत भए पनि संस्थापक सेयर भने सूचीकृत हुन सकेका छैनन् । यसमा ६ वटा जलविद्युत कम्पनी, उत्पादन, होटल–पर्यटन, लघुवित्तलगायत समूहका कम्पनी परेका छन्।
सरोकारवालाहरूका अनुसार कानुनी आधार र औचित्य पुष्टि नगरी सीडीएससीले दुईवटा आईजिनको प्रस्ताव गर्दा समग्र पुँजीबजारलाई दीर्घकालसम्म असर पर्ने खतरा छ। लक–इन अवधि सकिन लागेका कम्पनीदेखि आइपीओको पाइपलाइनमै रहेका कम्पनीहरू समेत प्रभावित हुने देखिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) ले यो प्रस्ताव फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिँदै यसले सरकारले तय गरेको १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य नै प्रभावित हुने दाबी गरेको छ।
आईजिन भनेको सेयर वा धितोपत्रलाई विद्युतीय रूपमा सूचीकृत गर्न दिइने अन्तर्राष्ट्रिय पहिचान नम्बर हो। हालसम्म नेप्सेले कुनै धितोपत्रलाई स्टक सिम्बोल दिन्छ र सीडीएससीले त्यसको लागि एउटै आईजिन नम्बर तोक्ने चलन रहिआएको थियो। तर, सीडीएससीले नयाँ निर्देशिका ल्याउँदै संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आईजिन दिने प्रस्ताव गरेको छ।
यो व्यवस्था कानुनी आधारविनै ल्याइएको भन्दै संस्थापक लगानीकर्ता असन्तुष्ट छन्। उनीहरूका अनुसार लक–इन अवधि सकिएपछि संस्थापक सेयर साधारण सेयरमा परिणत हुन्छन्, त्यसैले एउटै आईजिन नम्बर पर्याप्त हुन्छ।
आईजिन विवादका कारण १ अर्बभन्दा बढी संस्थापक सेयर लामो समयदेखि सूचीकृत हुन सकेका छैनन् । यसले लगानीकर्तामा अनिश्चितता सिर्जना गरेको छ भने बजारमा तरलता समेत घट्ने जोखिम बढेको छ। विकास हाइड्रो, ओम मेगा श्री फर्मास्युटिकल्स लगायतका कम्पनीका संस्थापक सेयर सूचीकृत नभएको उदाहरण प्रस्तुत गरिएको छ।
सीडीएससीले ‘धितोपत्र अभौतीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ सेबोनमा स्वीकृतका लागि पठाएको भए पनि सेबोनले अझै निर्णय गर्न सकेको छैन। यसबीचमा सरोकारवालाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गरेका छन्।
IPPAN : दुईवटा आईजिनले ऊर्जा क्षेत्रको लगानीलाई अवरुद्ध गर्दै सरकारी लक्ष्य प्रभावित गर्छ।
विश्लेषक राजन कुमार झा : कानुनी आधारविना ल्याइएको व्यवस्थाले सेयरको तरलता घटाउने र लगानीकर्तालाई निरुत्साहित गर्ने खतरा छ।
चार्टर्ड अकाउन्टेन्ट घनश्याम पौड्याल : संसारभरि सिंगल आईजिनको व्यवस्था छ, नेपालमा मात्र दोहोरो आईजिन ल्याउनु औचित्यहीन हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij