
काठमाडौंँ । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङलाई पुनः नियुक्त गरिएको छ । भदौ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई फेरि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको पहिलो चार वर्षे कार्यकाल असोज ७ गते सकिन अघि यो निर्णय गरिएको छ । असोज ८ गतेदेखि लागू हुने गरी उनलाई फेरि चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
बैंकिङ क्षेत्रमा काम गरेको ४० वर्षको अनुभव बोकेका खालिङले सन् १९८६ मा स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । खालिङ लक्ष्मी सनराइज बैंक (साबिक लक्ष्मी बैंक)मा सीईओ हुँदै विसं २०७८ मा एभरेष्ट बैंकको सीईओ बनेका थिए । पन्जाब नेशनल बैंकको साझेदारीमा सन् १९९४ मा खुलेको एभरेष्ट बैंक २७ वर्षसम्म विदेशी सीईओको नेतृत्वमा चलेको थियो । सुदेश खालिङ नै एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ भएका थिए ।
उनको चार वर्षे कार्यकाल उत्कृष्ट रहेको बैंकका सूचकाङ्कहरूले दर्शाउँछ । २० वाणिज्य बैंकमध्ये सेयर मूल्य सबैभन्दा बढी एभरेष्ट बैंकको छ । लाभांश क्षमता सबैभन्दा बढी एभरेष्ट बैंकको छ । अर्थतन्त्रमा चरम संकट हुँदा पनि बैंकको खराब कर्जा १ प्रतिशतभन्दा घटी छ । बैंकको व्यवसाय वृद्धि उच्च दरमा भएको छ ।
चार वर्ष अगाडि खालिङ सीईओ बन्दा बैंकको निक्षेप १ खर्ब ६० अर्ब रुपैयाँ थियो भने हाल २ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । चार वर्ष अगाडि १ अर्ब ८२ करोड रुपैयाँ नाफा गर्ने बैंकले गत आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्ब रुपैयाँ नाफा गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij