Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) आरम्भ

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) आरम्भ

  • काठमाडौँ।प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिमा श्राद्ध गरी पिण्डदान अपराह्नसम्म सम्पन्न गर्नुपर्ने छ।

    सोह्र श्राद्धलाई आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरेर गर्ने परम्पराले नाम दिइएको हो। यसलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ। वैदिक सनातन परम्पराअनुसार ठूला पर्व–चाड सुरु गर्नु अघि पितृलाई श्रद्धापूर्वक सम्झनाका लागि यो कर्म गरिन्छ।

    धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध गर्नाले पितृऋणबाट मुक्त भइने र पितृप्रतिको दायित्व पूरा हुने धार्मिक विश्वास छ। श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता रहेको छ। अपराह्न कालमै श्राद्ध गर्नु शास्त्रसम्मत भए पनि कतिपय पुरोहितले बिहानै गर्न सुझाव दिने गरेको समितिले जनाएको छ।

    यदि कारणवश सोह्र श्राद्ध रोकिएमा शास्त्रमा विकल्प दिइएको छ—

    • आफ्ना पिताको तिथिमा गर्नुपर्ने

    • आश्विन कृष्ण औँसीदेखि शुक्ल पञ्चमीसम्म गर्न सकिने

    • नसकिएमा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) वा वृश्चिक सङ्क्रान्तिसम्म गर्न सकिने

    • अन्ततः नसक्ने अवस्थामा ब्राह्मणमार्फत १० महिनासम्म दैनिक १०८ मन्त्र जप गर्ने विकल्प

    यसरी गरिने कर्मबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास रहिआएको छ।

    पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। त्यसैले ठूला चाड मनाउनु अघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातनी परम्परा कायम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij