Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

  • बुटवल । लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लिमिटेड बुटवलबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ ।लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट (भीभीआईपी) पाहुनालाई लुम्बिनी केबलकारले केबलकारमार्फत पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराउने सम्झौतामा जनाइएको  छ ।साथै लुम्बिनी विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।


    सम्झौता हस्ताक्षर कार्यक्रममा  लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले लुम्बिनी केबलकारसंगको सम्झौताले दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्ने बताए । लुम्बिनी भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन लुम्बिनी केबलकार हुंदै बसन्तपुर यात्रा गराउन आवश्यक रहेको पनि जनाइयो ।

    बसन्तपुरको हावापानी तराई भन्दा १० डिग्री कम हुने भएकाले भारतीयसँगै बौद्धमार्गी तेस्रो मुलुकका पर्यटकलाई सजिलै आकर्षण गर्न सकिने जनाइएको छ । शाक्यले श्रीलंका र म्यानमार लगायत बौद्धमार्गी वाहुल्य राष्ट्रका ट्राभल एजेन्सीसँग सहकार्य गरेमा केबलकारमा विदेशी पर्यटक भित्र्याउन सकिने सुझाव दिए ।

    लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन  राईले लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुर ध्यान केन्द्रका लागि पनि उपयुक्त रहेकाले ध्यान केन्द्र बनाउन पर्ने जोड दिए ।केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले लुम्बिनी विकास कोषसँगको सम्झौताले बसन्तपुर हिल स्टेशन भ्रमणमा पर्यटक आगमन वृद्धि हुने बताए ।

    कायस्थले समुद्री सतहबाट एक हजार मिटर उचाईमा रहेको बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिरसँगै स्वच्छ, शान्त र शीतल वातावरणमा रहेकाले हरेक वर्ष पर्यटक आगमन वृद्धि भएको  जनाए । 

    अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्माण गरिएको युरोपियन प्रविधिको लुम्बिनी केबलकारमा २५ वटा गोण्डुला छन् । एक दिनमा ६ हजार जनालाई आवतजावत गराउन सक्ने केबलकारको क्षमता रहेको छ । दुवै संस्थाल सम्झौताले  गर्दा बुद्धजन्मस्थल लुम्बिनी र बसन्तपुरको पर्यटन प्रवद्र्धनसँगै दुई संस्थाबीच आपसी सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार आईएमई ग्रुप अन्तर्गतको कम्पनी हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij