Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

नवरात्र दोस्रो दिन : ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना

नवरात्र दोस्रो दिन : ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना

  • काठमाडौँ । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।

    नवरात्रको पहिलो दिन सोमबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखी नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वानसहित पूजा गरिएको थियो । आज दोस्रो दिन भने देवी ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्र पाठ गरिन्छ । धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता रहिआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने परम्परा रहेको छ ।

    धार्मिक ग्रन्थअनुसार संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउन निरन्तर लागिरहने देवी नै ब्रह्मचारिणी हुन् । उनको हातमा कमल, अक्षमाला र कमण्डलु हुने उल्लेख पाइन्छ ।

    नवरात्र प्रारम्भसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । सोमबारदेखि नै विभिन्न शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij