
काठमाडौँ । लगातार दुई कारोबार दिन बढेको नेप्से परिसूचक बुधबार भने घटेर बन्द भएको छ। दशैँ खर्च जोहो गर्न लगानीकर्ताले शेयर बिक्री गरेसँगै बजार दबाबमा परेपछि परिसूचक २७.८९ अंकले घट्दै २६५४.३५ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.९७ अंकले घट्दा फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंकले तल झरेका छन्।
मंगलबार ५ अर्बभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३१७ स्टकको ४७ हजार ८५२ पटकको कारोबारमार्फत ९४ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम घटेर ४ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटि होटल र हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्यस्तै, सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्य र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।
उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ५.३८ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको २२ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भयो। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब १७.५ करोड र हिमालयन रि इन्स्योरेन्सको १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूह (होटल तथा पर्यटन र म्युचुअल फण्ड) को परिसूचक सामान्य बढ्दा ११ उपसमूह घटेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij