
काठमाडौँ । आफ्नै घरमा बस्दै आएका नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडलको घर जलाइदिएकाले उनको लागि भाडाको घर खोजिन थालिएको छ । गत भदौ २३ गते र भदौ २४ गते जेनजी आन्दोलन हिंसात्मक भई भएको आगजनीमा गभर्नर पौडलको घर जलेको हो ।
राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ संशोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकमा ३० वर्ष काम गरिसकेका अधिकारीले घर सुविधा लिन पाउने सुविधा भएपनि कुनै पनि अधिकारीले त्यो सुविधा लिएको नदेखिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । तर, डा. चिरञ्जिवि नेपाल गभर्नर हुँदा घर भाडामा लिएर बसेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसीसी स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा खोजिएको हो ।
घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारसम्बन्धी सबै सुविधाको प्रबन्ध भएको हुनुपर्ने घरको खोजिएको जनाइएको छ ।
घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij