Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

दशैं नजिकिँदै गर्दा बैंकमा निक्षेप उच्च: १० खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रियो

दशैं नजिकिँदै गर्दा बैंकमा निक्षेप उच्च: १० खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रियो

  • काठमाडौं । चाडपर्वको मौसमसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम तीव्र भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल निक्षेप हालसम्मकै उच्च ७४ खर्ब ७ अर्ब पुगेको छ। वाणिज्य बैंकमा मात्र ६६ खर्ब ५७ अर्ब र अन्य वित्तीय संस्थामा ७ खर्ब ५१ अर्ब निक्षेप संकलन भएको छ। तर, यसै अवधिमा कर्जा विस्तार भने सुस्त देखिएको छ।

    हालसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५६ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका छन्। जसमा वाणिज्य बैंकले ५० खर्ब १६ अर्ब र अन्य संस्थाले ६ खर्ब २४ अर्ब मात्र कर्जा प्रवाह गरेका छन्। यसले गर्दा बैंकिङ प्रणालीमा सीडी रेसियो ७५.२१ प्रतिशतमा झरेको छ र करिब १० खर्ब २६ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको देखिन्छ।

    ब्याजदर ऐतिहासिक न्यून विन्दुमा आइपुग्दा पनि लगानी विस्तार हुन नसकेको अवस्था छ। सामान्यतया ब्याजदर घट्दा शेयर बजार वा घरजग्गामा आकर्षण बढ्ने भए पनि हाल राजनीतिक अस्थिरता, लगानीयोग्य वातावरणको कमी र जेनजी आन्दोलनपछिको अनिश्चितताले ती क्षेत्र सुस्त बनेका छन्। यस्तो अवस्थामा मानिसहरू थोरै ब्याजदरमा भए पनि बैंकमै निक्षेप राख्न रुचाइरहेका छन्।

    बैंकर्स संघका अनुसार दशैं–तिहार जस्ता चाडपर्वमा सामान्य अवस्थाभन्दा ५० प्रतिशत बढी रेमिट्यान्स भित्रिने भएकाले निक्षेप वृद्धिमा यसले ठूलो योगदान पुर्‍याएको छ। तर, निक्षेप थपिँदा पनि कर्जा विस्तार हुन नसक्दा लगानीयोग्य रकम राष्ट्र बैंकका विभिन्न उपकरणमार्फत राखिएको छ। असोज १० गतेसम्म मात्र बैंकहरूले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत ६ खर्ब ७६ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन्।

    यसबीच, जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यवसाय र प्रतिष्ठानका लागि राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने व्यवस्था गरेको छ। असामान्य परिस्थितिबाट प्रभावित क्षेत्रलाई सहुलियतपूर्ण कर्जा, न्यून ब्याजदर र रोजगार सृजनामा जोड दिइएको छ। तर, अर्थविद्हरूको भनाइमा अधिक तरलता र सुस्त लगानी विस्तारका कारण सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा असर पर्न सक्ने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij