
काठमाडौं।लगातार दुई दिनको भारी वर्षापछि स्थगित सेवाहरू आज सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘काठमाडौं जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको अत्यन्त जरुरी सूचना’ जारी गर्दै सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएको हो।
मौसममा सुधार आएसँगै सरकारले घोषणा गरेको दुई दिनको बिदामध्ये एक दिन कटौती गरी सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिइएको हो।
सूचनामा भनिएको छ,
“विगत २ दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार तथा राहतमा जुट्नुपर्ने स्थितिका कारण मिति २०८२–०६–१९ र २० गते २ दिन सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा तदनुरूप कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध छ।”
उक्त सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले आइतबार राति १० बजे जारी गरेकी हुन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij