
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका लागि समाजिक सञ्जालमा नयाँ अकाउन्टहरू बनाइएका छन् । पूर्ववर्ती प्रधानमन्त्रीले प्रयोग गर्दै आएका सामाजिक सञ्जालका अकाउन्टहरूको ठाउँमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले ती नयाँ अकाउन्टहरू प्रयोग गर्ने भएकी हुन् ।
सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । प्रधानमन्त्री पदमा जो आए पनि त्यही सामाजिक सञ्जालको अकाउन्ट प्रयोग गरिने कारण भनेको त्यो सरकारको आधिकारिक हुन्छ ।
तर भदौ २३ र २४ गतेको जेनजी युवा विद्रोहबाट सत्तासीन भएकी सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल प्रयोग नगरी नयाँ अकाउन्ट प्रयोग गर्ने भएको जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले जारी गरेको एक प्रेस विज्ञप्तिमा यस्तो जनाइएको छ ।अघिल्ला प्रधानमन्त्रीहरुले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको भन्दा हालका प्रधानमन्त्री कार्कीले प्रयोग गर्ने अकाउन्टको फरक युजरनेम छ ।
अघिल्ला प्रधानमन्त्रीहरुले एक्समा @PM_nepal ह्याण्डल प्रयोग गर्दथे भने प्रधानमन्त्री कार्कीले अबदेखि एक्स ह्याण्डल @pmsushilakarki प्रयोग गर्ने विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले सार्वजनिक गरेको जानकारी अनुसार पुरानो अकाउन्ट चलाउँदा अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीकै गतिविधिहरु देखिने भएकाले नयाँ प्रयोग गर्न थालिएको हो ।
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एक्स (ट्वीटर) अकाउन्ट पनि आइतबार मात्र हस्तान्तरण गरेको छ । फेसबुक र इन्स्टाग्राम भने अझै हस्तान्तरण भएको जनाइएको छ ।फेसबुक र इन्सटाग्राम म्यानेज गर्ने विषयमा प्राविधिक टोलीहरुसँग सल्लाह भइरहेको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij