
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आम्दानी ५ वर्षमा ५४ प्रतिशतले बढेको छ ।
पछिल्लो ५ वर्षमा विद्युत् खपत ४० लाख ११ हजार १सय२२ मेगावाट आवर बढेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा विद्युत् खपत १ करोड १२ लाख ८८ हजार २६८ मेगावाट आवर पुगेको छ। प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा विद्युत् खपत ७२ लाख ७७ हजार १४६ मेगावाट आवर थियो। आव ०७७/७८देखि ०८१/८२सम्मको तुलना गर्दा ४० लाख ११ हजार १ सय २२ मेगावाट आवर बढेको देखिन्छ ।
यस अवधिमा ११ लाखभन्दा बढी ग्राहक थपिएको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४५ लाख २८ हजार ४११ रहेको ग्राहकको संख्या आव २०८१/८२ मा आइपुग्दा ५७ लाख ७ हजार ५२८ पुगेको छ।प्राधिकरणका पदाधिकारीहरूका अनुसार यो अवधिमा बिजुली उत्पादन पनि बढेको छ । प्राधिकरणले विद्युतीकरणमा जोड दिएकाले हाल विद्युतीकरण करिब ९९ प्रतिशत पुगिसकेको छ।
विद्युतीकरणसँगै पछिल्लो सयम विद्युतीय साधनको प्रयोग बढेका कारण पनि विद्युतको खपत बढेको प्राधिकरणको बुझाइ छ। विद्युतीय सवारीसाधनको प्रयोग आक्रामक रुपमा बढेको छ। यसका अलवा घरायसी प्रयोजनमा प्रयोग हुने सामान पनि विद्युतमा आधारित नै हुन थालेका छन् । ५ वर्ष पहिले प्रायः घरमा सामान्य पंखा हुने घरमा अहिले एसीको उपयोग हुन थालिएको छ । भान्सामा खानेकुरा पकाउन ग्यासको प्रयोग विस्थापित हुँदै गएको छ । यसरी दैनिक जीवनमा प्रयोग हुने वस्तुहरूको सञ्चालन बिजुलीबाट चल्ने वस्तुहरूमा विस्थापित हुँदै गएकाले विद्युत खपत बढेको छ ।
लोडसेडिङ घटेयताका तीन वर्षमा तीन वर्षयता विद्युतीय सवारीसाधनको प्रयोग निरन्तर बढ्दै गएको छ । विद्युतको खपत बढेर पछिल्लो ५ वर्षमा विद्युत् खपत बढ्दा प्राधिकरणको आम्दानी पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा बिजुली बेचेर करिब ७१ अर्ब रुपैयाँ आम्दानी गरेको प्राधिकरणले आव २०८१/८२ मा १ खर्ब ९ अर्ब रुपैयाँ आम्दानी गरेको देखिन्छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा विद्युत् बिक्री गरेर ७० अर्ब ९९ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो। आव २०७८/७९ मा ८३ अर्ब २२ करोड ४२ लाख, आव २०७९/८० मा ९० अर्ब ४६ लाख ३७ लाख र आव २०८०/८१ मा ९९ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ आम्दानी थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij