Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

डिजिटल बिजुली महसुल संकलन लोकप्रिय बन्दै ,गत आवमा ३३ अर्ब बढी संकलन

डिजिटल बिजुली महसुल संकलन लोकप्रिय बन्दै ,गत आवमा ३३ अर्ब बढी संकलन

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको डिजिटल भुक्तानीले बिजुली  महसुल संकलनमा ठुलो फड्को मारेको छ । नेपाल विद्युत प्राधिकरणले ८ वर्षअघि सुरु गरेको अनलाइन प्रणाली अहिले विद्युत महसुल तिर्न ग्राहकका लागि पहिलो विकल्प बन्न पुगेको हो ।

    गत आर्थिक वर्ष प्राधिकरणका ग्राहकहरूबाट  ३३ अर्ब ७ करोड रुपैयाँ महसुल डिजिटल भुक्तानीमार्फत् संकलन भएको छ । डिजिटल भुक्तानी सेवाबाट दैनिक  १५ करोड रुपैयाँसम्म महसुल उठ्ने गरेको छ ।८ वर्ष अघि विद्युतको महसुल तिर्न ग्राहकले अनिवार्यरुपमा प्राधिकरणको वितरण केन्द्रमै  जानु पर्ने बाध्यता थियो ।  ग्राहकहरूको सेवाका लागि प्राधिकरणले २०७४ भदौदेखि विद्युत महसुल संकलनलाई डिजिटलाइज गरेको थियो ।

    त्यसबेला प्राधिकरणले ३ वटा शहर काठमाडौं, पोखरा र भरतपुरबाट अनलाइन विद्युत महसुल संकलन सेवा सुरु गरेको थियो।  ग्राहकले अनलाइनबाट भुक्तानी गर्न रुचि दर्शाएपछि प्राधिकरणले यो सेवा देशभर विस्तार गरेको थियो ।वालेटको बढ्दो प्रयोग र ग्राहक प्रविधिमैत्री हुँदा अनलाइनबाट बिजुलीको महसुल तिर्ने ग्राहकको संख्या बर्सेनि बढ्दै गएको छ ।

    प्राधिकरणका बिलिङ तथा नेटवर्थ शाखाका प्रमुख रविन्द्र श्रेष्ठले डिजिटल भुक्तानी सेवाबारे जनाए अनुसार ग्राहकहरूलाई आफू बसेकै ठाउँबाटै बिजुलीको महसुल तिर्न सकिने भएका कारण ग्राहकहरु अनलाइन भुक्तानीतर्फ आकर्षित भएका छन् । अनलाइन भुक्तानीको सुविधाले ग्राहकले घण्टौं लाइन बसेर झन्झटिलो समयको नोक्सानी हुनबाट जोगाउएको छ ।

    अनलाइनबाट महसुल तिर्ने सुविधाले ग्राहकलाई प्रत्यक्ष र अप्रत्यक्ष गरी ठूलो सहयोग पुगेको छ। भुक्तानी केन्द्रमा गएर लाइन बस्न पर्ने समस्या हल भएको छ। ग्राहकको समय समेत बचत भएको बताउँदै  श्रेष्ठले प्राधिकरणलाई  पनि काउण्टरमा धेरै कर्मचारी राख्नुपर्ने अवस्था हटेको जनाए ।

    ८ वर्षअघि काठमाडौं, पोखरा र भरतपुरबाट सेवा सुरु गर्दा २०७४ भदौदेखि चैतम्म अनलाइनबाट ६५ करोड रुपैयाँ महसुल संकलन भएको थियो। आर्थिक वर्ष २०८१÷८२ मा ३३ अर्ब ७ करोड रुपैयाँ महसुल अनलाइनबाट संकलन भएको छ।सुरुमा ५ लाख रुपैयाँसम्म महसुल मात्र अनलाइनबाट तिर्न मिल्थ्यो। प्राधिकरणले गत वर्षबाट त्यो सीमा हटाइसकेको छ। 

    हाल बिहान ८ बजेदेखि राति १२ बजेको बीचमा अनलाइन महसुल भुक्तानी सेवा सञ्चालन हुन्छ। प्राधिकरणले अब चौबीसै घण्टा बिजुलीको महसुल तिर्न मिल्ने व्यवस्था गर्न लागिएको छ ।

    श्रेष्ठका अनुसार यसका लागि सफ्ट्वयर अपडेट गर्ने काम सुरु भइसकेको छ । महसुल भुक्तानी गर्दा ग्राहकले ५ रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब त्यो रकम प्राधिकरणले नै बेहोर्ने व्यवस्था गर्न लागिएको छ। विद्युत् महसुल भुक्तानी विभिन्न बैंक तथा वित्तीय संस्थाको र डिजिटल वालेटमार्फत गर्न सकिन्छ। अनलाइनबाट भुक्तानी हुन थालेसँगै प्राधिकरणका कार्यालयमा हुने  ग्राहकहरूको भिडमा कमी आएको छ । यसले प्राधिकरणलाई जनशक्ति व्यवस्थापन गर्न सहज भएको छ भने काउन्टर खर्च पनि घटेको छ।

    विद्युत् महसुल संकलनका लागि प्राधिकरण अन्तर्गत देशभर १ सय २९ वटा शाखा छन्। अनलाइनमार्फत भुक्तानी हुन थालेपछि हरेक शाखामा काउन्टर संख्या घटाइएको छ। अनलाइन भुक्तानीको व्यवस्था नहुँदा ग्राहक धेरै भएका शाखामा २३ वटासम्म काउन्टर रहेकामा अहिले त्यसलाई ३ वटामा झारिएको।ग्राहक धेरै भएको शाखा काठमाडौंको रत्नपार्क हो। यहाँ पहिले २३ वटा काउन्टर रहेकामा अहिले ३ वटा मात्र छन्।

    २०७४ साल भदौ देखि चैतसम्म ६५ करोड संकलन भएको थियो । आर्थिक वर्ष २०७५/७६मा ४ अर्ब ६० करोड, आव २०७६/७७मा ८ अर्ब ७० करोड, २०७७/७८मा ११ अर्ब ७६ करोड, २०७८/७९मा  १५ अर्ब २५ करोड , २०७९/८०मा  २१ अर्ब ५४ करोड, २०८०/८१मा २७ अर्ब ४३ करोड  र २०८१/८२मा  ३३ अर्ब ७ करोड संकलन भएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij