
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको काम कारबाही १५ दिनदेखि ठप्प रहेको छ । त्यहाँका कर्मचारीहरू आन्दोलन सुरु गरेयता त्यहाँको काम ठप्प रहेको हो । उनीहरूको आन्दोलनले १५ दिन पूरा गरेको छ । बोर्डका कर्मचारीले असोज ७ गतेदेखि बोर्डमा आन्दोलन गरिरहेका छन् ।
अर्थमन्त्रालयले गरको निर्णय विरुद्ध उनीहरूको आन्दोलन भएको हो । अर्थ मन्त्रालयले असोज २ गते सेवा सुविधा कटौती गर्ने गरी पठाएको पत्रका कारण बोर्डका सबै कर्मचारी आन्दोलनमा सामेल भएका हु्न् ।
कर्मचारी कार्यालय आउने, कार्यालय समयमा मुलगेटमा धर्ना दिने काम भइरहेको छ । आन्दोलनको सुरुको दिनमा कर्मचारीहरुले अध्यक्ष, कार्यकारी निर्देशक लगायत उच्च पदस्थ कर्मचारीले प्रयोग गर्ने सवारी साधानको चाबी खोसेका थिए ।
कर्मचारीले बोर्डको स्वायत्तता कायम गर, कर्मचारीले कानुन सम्मत खाइपाई आएको सेवा सुविधा कटौती खारेज गर, गैर कानूनी आदेश खारेज गर, कर्मचारीलाई मनोवैज्ञानिक त्रास बन्द गर, भय रहित तरिकाले कम गर्ने वातावरण सुनिश्चितता गर जस्ता माग राखेर बोर्डका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
भदौ ३१ गतेको राजस्व सचिव स्तरीय निर्णयबाट कर्मचारीले खाइपाइ आएको सेवा सुविधा कटौती हुने, यसअघिका कर्मचारीले खाइपाइ आएको सुविधा पनि फिर्ता गर्नुपर्ने भन्दै सेबोनमा पत्र पठाइयो । त्यसपछि कर्मचारी आन्दोलनमा गएका थिए ।आन्दोलनमा रहेका कर्मचारीले समयमा नै समस्याको समाधान गर्न नेतृत्वलाई आग्रह गर्दै मन्त्रालयले पठाएको पत्र खारेज हुनुपर्ने समेत माग गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij