
काठमाडौँ । घर बनाउन बैंकहरूले स्थिर ब्याज दर कर्जा योजना(स्किम) ल्याएका छन्। तुलनात्मकरूपमा बैंकहरूले घर बनाउन चाहनेहरूका लागि सस्तो र स्थिर ब्याज दर कर्जा स्किम ल्याएका हुन् ।
कर्जाको माग नभएपछि बैंकहरूको ब्याजदर निरन्तर घटिरहेको बेला बैंकहरुले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने स्किम ल्याएका हुन्। ११ वटा बैंकले ७ देखि ११ प्रतिशत बीचको स्थिर ब्याजदरमा घर कर्जा दिने जनाएका छन्। स्थिर ब्याजदर भनेको लिएको ऋणको अवधिभर एकै दरमा तिर्ने हो, यसको दर घटबढ नहुने ब्याज दर हो ।
घर कर्जा प्रवाह भएर जाँदा यसले समग्र क्षेत्रको माग र आपूर्तिको गतिविधिलाई बढाउने विश्वासका साथ यो स्किम ल्याइएको हो ।अर्कोतर्फ परिवर्तित ब्याजदरको हकमा भने बैंकहरुले ६ प्रतिशत कम ब्याजदरमा घरकर्जा दिइरहेका छन्।
नेपाल बैंकले ५.९९ प्रतिशत, नबिल बैंकले ६.४२ प्रतिशत र एभरेष्ट बैंकले ६.४० प्रतिशत परिवर्तित ब्याजदरमा घर कर्जा दिइरहेका छन्। परिवर्तनशील दरमा बेसरेट माथि जाँदा ब्याजदर बढ्ने गर्छ ।यतिबेला बैंकहरुले न्यूनतम ७.४९ प्रतिशतदेखि अधिकतम ११.६५ प्रतिशतसम्म स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन्।
एभरेष्ट बैंकले सबैभन्दा न्यून ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जाको स्किम ल्याएको छ। त्यसैगरी, ग्लोबल आइएमइ बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा स्किम ल्याएको छ। नबिल बैंकले ७ वर्ष अवधिको घर कर्जा ८.९९ प्रतिशत र १० वर्षको कर्जा ९.४९ प्रतिशत ब्याजदरमा कर्जा दिन्छ। त्यसैगरी, ग्लोबल आइएमइ बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिन्छ।
प्रणालीमा अधिक तरलता भएको अवस्थामा बैंकहरुले स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन्।बैंकहरूका अनुसार अन्य कर्जाको तुलनामा होम लोन बढी सुरक्षित हुने भएकाले न्यून स्थिर दरमा स्किम ल्याइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij