
काठमाडौँ । भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको छ । ६ महिना देखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान भैरहवाबाट फेरि सुरु हुन लागेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले बताएका हुन् ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनाए अनुसार थाई एयर एसियाले हप्तामा दुईपटक उडान भर्ने अनुमति माग गरेको छ । थाईल्यान्डको थाई एयर एसियाले आगामी अक्टोबर २६ बाट उडान सञ्चालन गर्ने पक्का भएको छ ।थाई एयर एसियाले २६ अक्टोबरदेखि नियमित रूपमा हप्तामा दुई उडान गर्ने गरी अनुमति माग गरेको छ । त्यस्तै, अल जजिरा पनि उडानको तयारीमा छ ।
भुलका अनुसार विमानस्थलमा स्लटको तयारी भइरहेको छ । तयारी पुरा हुनासाथ उडान अनुमति दिएर भैरहवामा उडान हुने छ ।कुवेती विमान कम्पनी जजिरा एयरवेजले पनि तिहारपछि उडान सुरु गर्ने तयारी गरिरहेको जनाइएको छ । जजिरा एयरवेजका र विमानस्थल व्यवस्थापनबीच समन्वय भइरहेको छ ।
यसअघि गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतकै कारण वैकल्पिक रूपमा भैरहवाबाट चारवटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान गरेका थिए । त्यो अवधिमा सातामा २० वटासम्म उडान भैरहवाबाट भएका थिए ।
भैरहवा विमानस्थलवाट नियमित उडानको तयारी भइरहेको खबरसँगै भैरहवाका व्यापारीहरूमा पनि उत्साहथपिएको छ । लामो समयदेखि विमानस्थल सञ्चालनको माग गर्दै आन्दोलन गर्दै आएका भैरहवाका व्यवसायीहरूले भैरहवाको विमानस्थल रुपन्देहीको विकासको मेरुदण्ड भएको बताएका छन् । यसको सञ्चालनले यो क्षेत्रमा छुट्टै उत्साह सिर्जना गर्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।
गत अप्रिलदेखि बन्द रहेको नियमित अन्तर्राष्ट्रिय उडानको पाँच महिनाको अवधिमा २ सयभन्दा बढी उडानमार्फत करिब ७ हजार यात्रुले सेवा लिएका थिए । त्यसयता केवल केही चार्टर उडान मात्र भएको थियो ।
२०७९ साल जेठ २ गते, २५६६औं बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाई एयर एसिया र हिमालय एयरलाइन्सले नियमित उडान गरेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij