
काठमाडौँ । हवाई पर्यटक आगमनमा गति बढ्दै गइरहेको बताउँदै यसलाई थप प्रोत्साहन गर्न सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण सभालाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस्तो बताएका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको बताउँदै सीईओ जोशीले सुरक्षाको प्रत्याभूति बिना पर्यटन क्षेत्र आत्मबल बढाएर अगाडि बढ्न नसक्ने बताए ।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा नेपालको पर्यटन क्षेत्रमा पनि क्षति भएको छ । त्यसका लागि पर्यटन क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।साथै निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रको पुनरुत्थानका लागि समन्वयपूर्ण प्रयासको आवश्यकता छ ।
जेनजी आन्दोलन भएको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको थियो । हाल त्यसमा सुधार हुँदै गएको छ । सेप्टेम्बर ८ र ९ पछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सयसम्म पुगेको छ । नेपाल भ्रमण सुरक्षित गन्तव्य रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले निरन्तर काम गरिरहेको छ ।
सीईओ जोशीले विगतका अनुभव साझा गर्दै हरेक १० वर्षमा मुलुकले कुनै न कुनै संकटको सामना गर्नुपरेको बताए । यस्तो परिस्थितिमा पनि काम गर्न सक्ने एक स्थायी संरचना विकास गर्नुपर्ने आवश्यकता छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij