
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख पूर्व अर्थमन्त्री तथा पूर्व गृहमन्त्री समेत रहेका कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी सार्वजनिक गरेका हुन् ।
मुद्दामा ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।
आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गरेको थियो । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन उनले दबाब दिएको आरोप छ ।
१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिएको थियो । भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।
भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटेको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।
२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।
महरा संलग्न रहेको भनिएको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै केही दिन अघि महरासँग बयान लिइएको थियो । बयान लिएको केही दिनमै प्रहरीले महरालाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij