
जुम्ला। ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक सम्पदा संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । ललितपुर महानगरको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका–५ मा पुरातात्विक शैलीमा निर्माण गरिएको गणेश मन्दिरको उद्घाटन गर्न जुम्ला आउनुभएका प्रमुख महर्जनले ललितपुर महानगरमा भएका मन्दिर जस्तै झल्को दिने गरी मन्दिर निर्माण गरिएको बताउनुभयो । चन्दननाथका पुराना सम्पदालाई संरक्षण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । चन्दननाथमा निर्माण गरिएको गणेश मन्दिरका लागि ललितपुर महानगरले रु ३५ लाख सहयोग गरेको प्रमुख महर्जनले जानकारी दिनुभयो ।
चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतका अनुसार उक्त मन्दिरको लागत रु १९ लाख ७५ हजार रहेको छ । बाँकी रकम मन्दिरको प्रवेशद्वार बनाउन खर्च गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार गणेशको मूर्ति बनाउने ढुङ्गा खोकनाबाट ल्याइएको थियो भने मन्दिर ललितपुरकै कालीगढलाई निर्माण गर्न लगाइएको थियो । मन्दिर सदरमुकाम खलङ्गाको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको छ । ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच तीन वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो । भगिनी सम्बन्ध कायम भएका पालिकाको विकासमा साझेदारी कायम गर्न ललितपुर महानगरले विभिन्न परियोजना अघि बढाएको छ । प्रमुख महर्जनका साथमा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं, वडा नंंं २८ का अध्यक्ष वीरेन्द्र महर्जनसहितको टोली जुम्ला आएको हो । –––
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij