
काठमाडौँ । आइतबार बैंकिङ प्रणालीमा १ खर्ब ९५ अर्ब र त्यसको ब्याजसहित फर्किने भएको छ ।नेपाल राष्ट्र बैंकले असोज २१गते , असोज२२ गते, असोज २६ गते र असोज २९ गते बैंकिङ प्रणालीबाट निक्षेप उपकरणको उपयोगरी तानेको रकम र तिनको कबोल बमोजिमको ब्याज फर्किन लागेको हो ।
क्रमिकरूपमा १२ दिने, ११ दिने , ७ दिने र ४ दिने भाखामा लिएको रकमको सावा र ब्याज भुक्तानी हुने मिति कातिक दुई गतेको रहेको छ ।सो अवधिमा असोज २१ गते ९० अर्ब, असोज २२ गते २० अर्ब, असोज २६ गते ५० अर्ब र असोज २९ गते ३५ अर्ब रुपैयाँ तानेको थियो ।सो रकम दिने बैंक र वित्तीय संस्थाहरूलाई सावाँ र ब्याज भुक्तानी गर्ने भाखा कातिक दुई दिएर नेपाल राष्ट्र बैंकले तानेको थियो ।
बैंकिङ प्रणालीमा तरलताको अवस्था सन्तुलनमा ल्याउन केन्द्रीय बैंकले निक्षेप संकलन गर्ने उपकरणको उपयोग गर्ने गरेको छ । अर्थतन्त्रको गतिविधिले बैंकिङ प्रणालीको तरलतालाई सन्तुलनमा राख्ने गर्छ । यस आधारमा असोज मसान्तसम्म तानिएको तरलता प्रवाहित हुने अवस्थाले आगामी दिनको स्थिति तय हुनेछ । अधिकांश बैंकहरूले कातिक महिनामा निक्षेपको ब्याज दर घटाएका छन् । यस्तोमा फर्किने रकम फेरि राष्ट्र बैंकले तान्ने उपाय अपनाउने देखिएको पर्यवेक्षकहरूले बताएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij