काठमाडौँ । चालु आवको पहिलो तीन महिनामा सवा दुई अर्बको ड्राइफ्रुट आयात भएको छ ।यो गत आवको तुलनामा ड्राइफ्रुट आयात दोब्बरले बढेको हो। चाडपर्वमा विशेषतः तिहारमा ड्राइफ्रुटको माग हुने भएकाले पनि यो आवमा आयात बढेको हुन सक्ने भनाइ रहेको छ । अर्कोतर्फ चालु आर्थिक वर्षमा सरकारले १२ प्रकारका ड्राइफ्रुटको अन्तःशुल्क पनि हटाएकाले आयात बढेको कतिपयको भनाइ छ ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा करिब २ अर्ब २५ करोड ५५ लाख ५१ हजारको १ करोड ४१ लाख ७७ हजार ८६३ केजी ड्राइफ्रुट आयात भएको छ। गत वर्ष सोही अवधिमा १ अर्ब २० करोड ८१ लाख ५१ हजारको ८९ लाख ३० हजार ७११ केजी आयात भएको थियो।
आयात भएका ड्राइफ्रुटमा नरिवल, बोक्रा भएको र नभएको काजु, बदाम, ओखर, पिस्ता, सुपारी, पाइन नट्स, कटुस, म्याकाड्यामिया नट्स, हेजल नट्स, ब्राजिल नट्स छन्।नेपालमा ड्राइफ्रुट भारत, चीन, साउदी अरेबिया, भियतनाम, पेरु, कतार, कुवेत, बहराइन, दुबई, जापान, मलेसिया,ओमन, भेनेजुयला, अमेरिका लगायतका देशबाट आयात हुने गरेको तथ्यांकमा जनाइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij