काठमाडौँ । चालु आर्थिक वर्षको (आव)पहिलो तीन महिनामा गत आवको करिब आधा जति प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोज गरी ३५ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार गत आव २०८१/८२ मा ६५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।
उद्योग विभागका अनुसार चालु आवको पहिलो तीन महिनामा कुल ३११ वटा परियोजनाहरूका लागि ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । असोज महिनामा मात्र ५४ वटा परियोजनाका लागि ४ अर्ब ९४ करोड ७३ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको जनाइएको छ ।
७ वटा ठूला, ४ वटा मझौला र ३०० वटा साना उद्योगमा लगानी गर्ने प्रतिबद्धता आएको छ । यसबाट विदेशी लगानीकर्ताहरू साना तथा मझौला व्यवसायहरूमा बढी आकर्षित भएको देखिएको छ ।
क्षेत्रगत रूपमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । १ सय ३ वटा पर्यटनमूलक उद्योगमा १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धताबाट नेपालको पर्यटन उद्योगको सम्भावना बलियो रहेको दर्शाउँछ ।
सोहीगरी सूचना प्रविधिमूलक क्षेत्र पनि विदेशी लगानीकर्ताहरूको आकर्षण रहेको छ । सोही अवधिमा १६२ वटा सूचना प्रविधिसम्बन्धी उद्योगहरूका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा ४ करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।
तर प्रतिबद्धता कार्यान्वयनमा समस्या देखिएका छन् । नेपालमा लगानीको प्रतिबद्धता उच्च भए पनि सोही अनुपातमा वास्तविक लगानी भित्रिन नसकेको तथ्यांकहरुले दर्शाउँछ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा ६५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरिएकोमा १२ अर्ब १ करोड रुपैयाँ मात्र वास्तविक लगानीको रूपमा भित्रिएको थियो । विज्ञहरूका अनुसार राजनीतिक अस्थिरताले लगानीकर्ताको विश्वास जित्न नसकेको हो । नीतिगत सहजता र स्थिरताको अभावले प्रतिबद्धता कार्यान्वयनमा आउन नसकेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij