Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १२ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १२ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १२ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    गृहमन्त्रीसँग र अमेरिकी राजदूतको शिष्टाचार भेट

     

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

     

     

    भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गर्नुभएको थियो । यसका लागि सबै पक्षसँग सहकार्य भएको तथा सर्वसाधारण र सुरक्षा संयन्त्रबीच विश्वासको वातावरण बनेको उहाँको भनाइ थियो ।

     

    राजदूत थम्प्सनले पछिल्लो समय मुलुकमा उत्पन्न परिस्थितिपछि शान्ति कायम गर्न र सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

    नेपाल–भारतबीच दुई नयाँ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता

    काठमाडौं । नेपाल र भारतबीच इनरुवा–पूर्णिया र लम्की ९दोदोरा०–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयर होल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता बुधबार भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा, नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा सम्पन्न भएको हो।
    सम्झौतामा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरेका हुन्। यस सम्झौतापछि दुवै देशको लगानीमा कम्पनी स्थापना गरेर प्रसारण लाइन निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश,  सातदिनभित्र लिखित जवाफ माग

    काठमाडौँ ।सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र उहाँको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

     

     

    निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तुसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदनको माग दाबीबमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेशमा भनिएको छ ।

     

     

    एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा

    काठमाडौँ ।  एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरुमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकहरुले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।

     

    आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरुका साथ सुधार गरेको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरुलाई तिब्रता दिदै गत १० दिनमा यी २० वटा नयाँ टावरहरु सञ्चालनमा ल्याएको एनसेलले जनाएको हो ।

    सर्वोच्चले विपक्षीलाई बोलाउने आदेश दिएपछि नेप्सेका कर्मचारीहरूको आन्दोलन फिर्ता

    काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले सेवा सुविधा पाउनु पर्ने माग राखी  सुरु गरेको आन्दोलन फिर्ता लिएका छन् । उनीहरूले  ३७ औं दिनमा आएर आन्दोलन फिर्ता लिएका हुन् । नेप्से कर्मचारी संघले विगत ३७ दिनदेखि आन्दोलन गर्दै आएको थियो ।

     

    कर्मचारीले श्रम अदालतले भने अनुसार ५ प्रतिशत बोनस पाउनु पर्ने भन्दै आन्दोलनमा रहेका थिए । नेप्से व्यवस्थापनले श्रम अदालतको आदेश र बोनस ऐनमा भएको व्यवस्था नमिलेको भन्दै श्रम अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ ।

    त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहद्वारा बालुवाटार बाहिर धर्ना

    काठमाडौँ ।  जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको छ ।  चुनावको वातावरण प्रयासस्वरुप बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको हो ।

     
    AION V द्वारा उच्च मान्यता भएको ५-स्टार यूरो NCAP सेफ्टी रेटिङ प्राप्त

    काठमाडौँ । उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड, AION ले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, AION निकै प्रचलित बनेको छ।

     

    नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई AION V र AION Y जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै AION V सुरक्षामा पनि उत्कृष्ट छ। AION V ले हालै यूरो NCAP टेस्ट २०२५ मा ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो। यो मान्यताले AION को उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ।

    बालुवाटारमा  सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु

    काठमाडौँ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ ।  

     

    प्रतिनिधि सभा निर्वाचनको सहज  वातावरणका लागि सघन वार्ता र छलफलको आयोजना भएको हो । सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो । जसलाई सरकारले त्रिपक्षीय वार्ता पनि भनेको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको बताएका छन् । 

    पाँच वर्ष यताकै सर्वाधिक स्मार्टफोन आयात

    काठमाडौँ । चालु आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा पाँच वर्षयताकै सबै भन्दा बढी स्मार्टफोन आयात भएको छ ।साउन असोजको पहिलो त्रैमासिकमा  स्मार्टफोनको आयात  ५ वर्ष यताकै उच्च आयात हो ।

     

    भन्सार विभागको तथ्यांकअनुसार चालु आवको ३ महिनामा कुल १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरका ८ लाख ४ हजार वटा स्मार्टफोन नेपाल आएका  छन् । स्मार्टफोन आयातबाट सरकारले २ अर्ब ५४ करोड २१ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

    पहिलो तीन महिनामा ३५ अर्ब बढीको विदेशी लगानीको प्रतिबद्धता

    काठमाडौँ । चालु आर्थिक वर्षको (आव)पहिलो तीन महिनामा गत आवको करिब आधा जति प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोज गरी ३५ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार गत आव २०८१/८२ मा ६५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।

     

    उद्योग विभागका अनुसार चालु आवको पहिलो तीन महिनामा कुल ३११ वटा परियोजनाहरूका लागि ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ  ।

    चालक मात्र रहेको अल्टिट्युड एयरको हेलिकप्टर दुर्घटना चालक सुरक्षित

    काठमाडौँ ।  सगरमाथा आधार शिविर नजिकै लबुचेमा भएको  हेलिकप्टर दुर्घटनामा क्याप्टेन विवेक खड्का  सुरक्षित रहेका छन् । हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेको र उनी सकुशल रहेको सुचना प्राप्त भएको छ ।
     
    भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक लिन पुगेको अल्टिट्युड एयरको 9N-AMS कल साईनको हेलिकप्टर आज बिहान  ७.५२ बजे  दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछि  नियन्त्रण कायम गर्दागर्दै  हेलिकप्टर जमिनमा जोतिएको थियो ।
     
    ५ अंकले घटेको शेयर बजारमा नेप्से परिसूचक २५६६ बिन्दुमा , कारोबार बढेर सवा ५ अर्ब बढी

    काठमाडौँ ।  ५ अंकले घटेको शेयर बजारमा नेप्से परिसूचक २५६६ बिन्दु कायम भएको छ । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार  ५ अंक घटेको हो । बुधबार नेप्से  परिसूचक घटे पनि कारोबार रकम बढेर ५ अर्ब ४५ करोड बढी भएको छ ।  अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भएको हो ।

     
    मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

    काठमाडौँ।मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । आज बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं ३३ गुल्मको टोली खटिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij