Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

  • काठमाडौँ । हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् ।

     काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना ठूला नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो बढेको हो । यी मन्दिरमा आज विशेष मेला लागेको छ । साथै नागार्जुन नगरपालिका– ७ रामकोटस्थित  बद्रीनारायण धाममा पनि मेला लागेको छ ।  यसैगरी तनहुँको व्यास नगरपालिका–९ स्थित सिद्धेश्वर राजापानी महादेव मन्दिरमा एकादशी मेला लागेको छ । 

     काठमाडौँ उपत्यकाका चार नारायणस्थानमा जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चातुव्र्युह नारायण मन्दिरको दर्शन गर्दा चार नारायणको दर्शन एवं पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यी दुवै मन्दिर शेषशायी भगवान् नारायण विराजमान हुनुहुन्छ । 

    बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर र हरि भगवान्को यस्तो मूर्ति विश्वमा अन्यत्र कतै नभएको बताइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी, बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लागेको छ ।

    प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।  
     

      हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग तुलसीको विवाह गर्ने प्रचलन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाका लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij