काठमाडौं । पुँजी बजारमा देखिएका समस्या र सुधारका बुँदाहरूको शीघ्र कार्यान्वयनका विषयमा ध्यानाकर्षण गराउन मंगलबार पुँजी बजारसँग सम्बन्धित पाँच वटा संघ–संस्थाका प्रतिनिधिहरूले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेट गरेका छन्। नेपाल शेयर धनी संघ, जनरल इन्भेस्टर एसोसिएसन, साधारण लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल शेयर बजार लगानीकर्ता संघका प्रतिनिधिहरूले मन्त्री खनाललाई भेट्दै पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदनका सिफारिसहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको र सम्बन्धित निकायहरूबीच समन्वयको अभाव रहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन्।
भेटका क्रममा लगानीकर्ता संघका प्रतिनिधिहरूले बजारमा देखिएको अन्योल र लगानीकर्ताबीच फैलिएको भ्रम तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले दोहोरो आईजीन प्रणालीको कार्यान्वयनमा ढिलाइ, नेप्से र धितोपत्र बोर्डबीचको विवाद, संस्थापक सेयरको सामूहिक बिक्री प्रवृत्ति नियन्त्रण, तथा टीएमएस र सीडीएससी प्रणालीमा देखिएका प्राविधिक समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
अर्थमन्त्री खनालले लगानीकर्ताहरूका मागलाई गम्भीरतापूर्वक लिएर छिटो समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने आश्वासन दिएका छन्। उनले पूँजी बजारमा लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij