म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुलेखर्कमा अवस्थित रितुङ्ग माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि रु दुई लाख सहयोग प्राप्त भएको छ । मङ्गलेखानी बस्तीका दिवङ्गत देविप्रसाद छन्त्यालको स्मृतिमा उहाँका घरपरिवार र आफन्तजनले विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि उक्त सहयोग गर्नुभएको हो ।
गाउँपालिकाको सबैभन्दा दुर्गम ठाउँको विद्यालयको रुपमा परिचित यस विद्यालयमा शिक्षण सिकाईमा आधुनिक सूचना प्रविधिको उपयोगका लागि स्मार्ट बोर्ड खरिद गर्न लागिएको हो । शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दिवङ्गत छन्त्यालका छोरी प्रेमकुमारी छन्त्याल र नातिनी बुहारी गिता फगामी छन्त्यालले विद्यालयका प्रधानध्यापक खिमबहादुर छन्त्याल र कार्यबहाक अध्यक्ष पदमबहादुर छन्त्याललाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
भौगोलिक रूपमा विकटता रहेको यस विद्यालयमा सूचना तथा सञ्चार र प्रविधिमैत्री पठनपाठनका लागि उक्त सहयोग गरिएको विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका सहयोगदाता गीता फगामी छन्त्यालले बताउनुभयो । उक्त अवसरमा विद्यालयले सहयोगदातालाई फुल माला र अविर लगाएर सम्मानसमेत गरेको विद्यालयका शिक्षक याम घर्तिमिरेले जानकारी दिनुभयो ।