Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

बञ्चरेडाँडा सम्झौताअनुसार कामपाको अधिकांश प्रतिबद्धता कार्यान्वयनमा

बञ्चरेडाँडा सम्झौताअनुसार कामपाको अधिकांश प्रतिबद्धता कार्यान्वयनमा

  • काठमाडौं ।काठमाडौं महानगरपालिका (कामपा) ले धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकासँग भएको १८ बुँदे सम्झौता अन्तर्गत सरकारको अधिकार क्षेत्रबाहेकका सबै माग पूरा गरिएको स्पष्ट पारेको छ। सो सम्झौता २०७९ जेठ २८ गते भएको हो, जसमा मेयर बालेन्द्र साह निर्वाचित भएलगत्तै स्थानीयको बाचा पूरा गर्ने प्रतिबद्धता गरिएको थियो।

    कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राई का अनुसार सम्झौतामा समावेश सरकारको अधिकार क्षेत्रबाहेकका सबै बुँदाहरू कार्यान्वयन भइसकेका छन्। केही काम भने नियमित प्रक्रियाअन्तर्गत अघि बढिरहेका छन्।

    हालै स्थानीय अवरोधका कारण तीन दिन फोहोर ढुवानी बन्द भएपछि मन्त्रालय र स्थानीय निकायबीच पुनः छलफल भएको थियो। त्यस क्रममा सहरी विकास मन्त्री कुलमान घिसिङ ले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो।

    सम्झौता कार्यान्वयनको अनुगमनका लागि सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा धुनिबेसी, ककनी र कामपाका प्रमुख प्रशासकीय अधिकारी सदस्य रहेका छन्। समितिले नियमित बैठकमार्फत सम्झौताको प्रगति समीक्षा गरिरहेको छ।

    कामपाले बुझाएको प्रतिवेदनअनुसार, फोहोर रात्रीकालीन ढुवानीका लागि बत्ती जडान सुरु भइसकेको र सो कार्य सम्पन्न भएपछि रातमै फोहोर ढुवानी सुरु हुने तयारी छ। साथै, मुख्य सडक स्तरोन्नति, सोलार बत्ती जडानका लागि बोलपत्र सूचना प्रकाशन, र फोहोरको दुर्गन्ध रोक्न सूक्ष्म जीव छर्ने काम नियमित रूपमा भइरहेको छ।

    कामपाले दुई महिनाभित्र लिचेट व्यवस्थापन गर्ने र लिचेट ट्रीटमेन्ट प्लान्ट स्थापनाका लागि चालू आवमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै, फोहोर ढुवानी गाडीमा लिचेट ट्याङ्की राख्ने व्यवस्था पनि गरिएको छ।

    फोहोरमैला व्यवस्थापनमा संलग्न कर्मचारी, चालक तथा सहचालकको स्वास्थ्य बीमा गरिएको छ भने प्रभावित क्षेत्रका स्थानीयहरूलाई पनि बीमामा आबद्ध गराई कामपाबाट स्वास्थ्य बीमा बोर्डलाई योगदान रकम निकासा गरिँदै आएको छ। चालू आवमा १ करोड ५० लाख मध्ये हालसम्म १ करोड ३० लाख रुपैयाँ भुक्तानी भइसकेको कामपाले जनाएको छ।

    त्यस्तै, कडा रोग लागेका विपन्न स्थानीयहरूलाई १ लाख रुपैयाँका दरले आर्थिक सहयोग दिइरहेको र प्रभावित क्षेत्रका विद्यालयहरूमा शिक्षक अनुदान उपलब्ध गराइएको छ। चालू आवमा धुनिबेसी नगरपालिकालाई समेत समेट्दै ३ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

    कामपाले आफ्नो प्रतिवेदनमार्फत तीनपिप्ले–बञ्चरेडाँडा सडकखण्डको जग्गाको लगत कायम गर्ने पहल पनि गरिरहेको जनाएको छ। विभाग प्रमुख राईले कामपाले आफ्नो अधिकारभित्रका अधिकांश प्रतिबद्धता पूरा गरिसकेको र बाँकी काम पनि क्रमिक रूपमा पूरा हुँदै जाने बताउनुभयो।

    यसैबीच, कामपाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा ५ वर्षमा कुल १ अर्ब ५३ करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ। सो खर्च साइट निर्माण, बाटो निर्माण, क्षतिपूर्ति, शिक्षा, स्वास्थ्य र रोजगारीका विभिन्न योजनामा भएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij