Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २३ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २३ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २३ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    प्रधानमन्त्रीसमक्ष डा केसीको ज्ञापनपत्र

    काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीसमक्ष चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले दशबुँदे ज्ञापनपत्र बुझाउनुभएको छ । प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा आज भेटेर डा केसीले ज्ञापनपत्र बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

    राष्ट्रिय स्वधिन संयुक्त सरकारका लागि संघर्ष घोषणा गर्यौंः सिपी गजुरेल

    काठमाडौं । वर्तमान राजनीतिक समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वधिन संयुक्त सरकारको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आजदेखि पुष ११ गतेसम्मका लागि संघर्षका कार्यक्रमहरु सार्वजनिकसमेत गरेको छ ।

    पार्टीका महासचिव सिपी गजुरेल‘गौरव’ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालिन प्रधानमन्त्री केपी ओलीको तानाशीताको कारण जेन्जी बिद्रोह भएको बताएका छन् । गजुरेलले जेन्जी बिद्रोहका क्रममा ७६ जनाको ज्यान तथा ९५ खर्ब भन्दा बढीको सम्पत्ति ध्वस्त भएको र त्यसबाट बनेको सरकार पनि गैरजिम्मेवार बनेको बताउँदै भने,“ओलीको पागलपनले ठूलो जन–धनको क्षति भयो तर, वर्तमान सरकार पनि खासै फरक भएन ।”

    एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व

    काठमाडौँ। विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’हरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा सम्पन्न सम्मेलनले समितिको उपाध्यक्षमा डा सञ्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया र सदस्यसहितको नयाँ कार्यसमिति चयन गरेको एनएनओका केन्द्रीय महासचिव चूडामणि भट्टराईले जानकारी दिनुभयो । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद्राज आरणले सो सम्मेलनको उद्घाटन गर्दै नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिनसक्ने बताउँदै संसारभर छरिएर रहेका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राख्नुभयो ।

    सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

    काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो । सञ्चारमन्त्रीले भन्नुभयो, “पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ । यसले प्रस्तुत गर्ने सामग्रीमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ । पिएसबीमा जनताको सहज पहुँच सुनिश्चित गर्नुपर्छ ।”

    शिक्षकहरूको पार्टीगत संगठनलाई मान्यता नदिने र संलग्न भएको पाइए कारबाही गरिने शिक्षा मन्त्रालयको  चेतावनी

    काठमाडौँ ।  शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका पार्टीगत संगठनलाई मान्यता नदिने बताउँदै पार्टीगत गतिविधिमा लागे कारबाही गरिने चेतावनी दिएको छ । आइतबार एक सूचना जारी गरी  मन्त्रालयले  विभिन्न व्यक्तिहरूबाट शिक्षकको पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको  जनाउँदै त्यस्ता पार्टीका भातृ संगठनलाई मन्त्रालयले मान्यता नदिने जनाएको  हो ।

    शेयर बजार : नेप्से परिसूचक३०.०२ अंकले घटेर २५६६.०९ बिन्दुमा, कारोबार पाँच अर्ब मुनि

    काठमाडौँ । साताको पहिलो दिन आइतबार  नेप्से बजारमा दुई अंकको गिरावट देखा परेको छ। नेप्से सूचक ३०.०२ अंकले घटेर  २५६६.०९ बिन्दुमा अंकमा बन्द भएको छ।

     

    आजको कारोबार ४ अर्ब ९० करोड ७६ लाख २४ हजार २ सय २८ रुपैयाँ ४० पैसा बराबर भएको हो । १ करोड ६ लाख १९ हजार १ सय ८० कित्ता शेयरको खरिद बिक्री भएको छ ।

    डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल भुक्तानीका सम्बन्धमा सहजीकरणका लागि प्रधानमन्त्री कार्यालयको निर्देशन

    काठमाडौँ । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल भुक्तानीका सम्बन्धमा सहजीकरणका लागि निर्देशन दिइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले   ऊर्जा मन्त्रालयलाई कात्तिक २१ गते  पत्र पठाइ  आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

     

    कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालहरूको उपस्थितिमा  भएको छलफल र समझदारीलाई सहजीकरण गर्न निर्देशन दिइएको छ ।

    सेबोनका आन्दोलनरत कर्मचारीलाई काममा फर्काउने अर्थमन्त्रालयको सहमति

    काठमाडौँ । डेढ महिनादेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)का आन्दोलनरत कर्मचारीहरूको आन्दोलन समाप्त गर्ने सहमति गरिएको छ ।अर्थमन्त्रालयले सेबोनका कर्मचारीहरूसँग सहमति गरेको हो ।सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सहमतिमा ल्याउन  नसकेका कर्मचारीलाई मन्त्रालयले आइतबार काममा फर्काएको हो।

     

    अर्थमन्त्री रामेश्वर खनालले दिएको निर्देशन अनुसार मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले डेढ महिनादेखि काम ठप्प पारेर आन्दोलनरत कर्मचारीसँग सहमति गरेर उनीहरूको आन्दोलन स्थगित गर्न लगाएका छन् ।मन्त्रालय र सेबोनका कर्मचारीबीचको सहमति अनुसार सेवा सुविधा कटौती नहुने व्यवस्थाका लागि सुझाव दिन अध्ययन समिति गठन गरिएको छ। सेबोनका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो।

     

    कोरियाली खानाको ‘के–फुड’ कार्यक्रम सम्पन्न

    काठमाडौँ। कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूको सक्रियतामा के–फुड कार्यक्रम कार्यक्रमको आयोजना गरियो । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा भएको सो कार्यक्रमले कोरियाली खानामार्फत सहभागीहरुले कोरियाको सम्झनाहरू साट्ने अवसर पाएका थिए । सो अवसरमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूत थेयङ पार्कले कोरियामा अनुभव लिई फर्किएका कामदार तथा पूर्वविद्यार्थीहरूका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षणहरु परिवार र साथीहरूसँग साझा गर्ने अर्थपूर्ण अवसरले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।

    आइतबार सुनको मूल्य बढेर २ लाख ३८ हजार ६०० रुपैयाँ   कायम

    काठमाडौँ । आइतबार सुनको मूल्य बढेर २ लाख ३८ हजार ६०० रुपैयाँ   कायम भएको छ ।  आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको हो ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

    नेपालगञ्ज (बाँके)।यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ । नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक पर्यटनका रूपमा विकास हुनथालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उहाँले बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुम्भरबाट करिब दुई घण्टाको पैदलयात्रा गरेर सो मन्दिरमा पुग्न सकिने उल्लेख गर्दै त्यस क्षेत्रको विकास लागि अझै लगानी बढाउन आवश्यक भएको बताउनुभयो ।

    त्रासमा रहेका उद्योगी व्यवसायीलाई सरकारले दिलायो सुरक्षा सुव्यवस्थाको विश्वास

    काठमाडौँ । जेनजी आन्दोलनको अराजक हिंसात्मक गतिविधिबाट त्रसित उद्योगी व्यवसायीहरूलाई सरकारले सुरक्षा सुव्यवस्थाको विश्वास दिलाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’मा सहभागी प्रधानमन्त्री , अर्थमन्त्री , उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र गृहमन्त्री लगायतकाले सम्बोधनबाट यस्तो विश्वास दिलाएका हुन् ।

     

    आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य भएको भन्दै  प्रधानमन्त्री सुशीला कार्कीले उक्त क्षतिबाट मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत दिई आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै प्रयास बाँकी नराख्ने विश्वास दिलाइन् । कानुनको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागिपरेको बताइन् ।

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij