काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचन (२१ फागुन) नजिकिँदै जाँदा निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गर्ने चाप तीव्र बनेको छ। आयोगका अनुसार, प्रतिनिधिसभा निर्वाचनको घोषणा भएयता पाँच नयाँ दल दर्ता भइसकेका छन्, भने २१ वटा दल (२० नयाँ र एकीकरणबाट बनेको १) दर्ता प्रक्रियामा रहेका छन्।
आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहितका दलहरू एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टी पनि दर्ता प्रक्रियामा छ।
निर्वाचन घोषणा भएयता विभिन्न व्यक्तित्व र समूहहरूले नयाँ दल दर्ता गरिरहेका छन्। धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी, दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपालले त बुधबार दर्ता प्रमाणपत्र समेत पाएको छ।
त्यस्तै, जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी र नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर राष्ट्रिय जनमुक्ति पार्टी गठन भएका छन्। यी दुवै दल अहिले आयोगमा सूचीकृत छन्। यससँगै आयोगमा दर्ता भएका राजनीतिक दलको कुल संख्या १२६ पुगेको छ।
यसबीचमा, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) को दर्ता भने खारेज भएको छ। गौतमले आफ्नो दललाई एकीकृत समाजवादीमा विलय गरेका थिए।
हाल दर्ता प्रक्रियामा रहेका दलहरूमध्ये केही नाम चर्चामा छन् —
त्यस्तै, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी, रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ता प्रक्रियामा लगिरहेका छन्।
अन्य दर्ता निवेदनमध्ये राजकुमार कक्षपतिले नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र), सुन्दरराम बोहराले आवाज पार्टी, गणेशकुमार मण्डलले सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाले नागरिक बचाउ दल, नेपाल, अकबर खानले राष्ट्र निर्माण दल नेपाल, रमणकुमार कर्णले जनादेश पार्टी नेपाल, र प्रशान्त सिंहले पिपुल फर्स्ट पार्टी दर्ताका लागि निवेदन दिएका छन्।
आयोगका अधिकारीहरूका अनुसार, कानुनले तोकेका सबै प्रक्रिया पूरा गरेका दलहरूलाई दर्ता प्रमाणपत्र दिइसकिएको छ भने अन्य दलहरूको कागजात परीक्षण, सदस्य सनाखत र केन्द्रीय समिति अध्ययनको काम जारी छ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, आगामी निर्वाचनले नयाँ राजनीतिक विकल्प खोज्ने जनमानसको अपेक्षाले दल दर्ता प्रक्रियामा चाप बढाएको हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij