काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २७ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
फेदीखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि रु.१७ करोड ६० लाख बराबरको प्राथमिक सार्वजनिक निष्काशन जारी गर्ने भएको छ।
यस प्रयोजनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीको अधिकृत तथा जारी पूँजी रु। ८० करोड रहेको छ, जसअन्तर्गत जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ लाख ६० हजार कित्ता सेयर (प्रति अंकित मूल्य रु.१००० विभिन्न समूहमा वितरण गरिनेछ।
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
काठमाडौँ । राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आ सामाजिक सञ्जालमार्फत जानकारी दिनुहुँदै अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताउनुभयो ।
नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने
काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो ९सामान० कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ ।
संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् । उक्त सुविधा उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंकएप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
सोमानी सेरामिक्सले पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बेस्डर बनायो
काठमाडौँ ।नेपालको नम्बर १ मानिएको टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
भैरहवाबाट हुने उडान सेवाको सम्भवानाप्रति थाइ एयर एसिया सन्तुष्ट
काठमाडौँ । भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान सेवाको सम्भवानाप्रति थाइ एयर एसिया सन्तुष्ट भएको देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्न नमानिरहेका बेला थाइ एयर एसियाले अकुपेन्सी राम्रो रहेको बताएको हो ।
सातामा दुई दिन बैंकक–भैरहवा–बैंकक उडान गर्दै आएको थाइ एयर एसियाको जीएसए युनिभर्सल टुर्स एण्ड ट्राभल्सले यात्रुको संख्याबाट आफू उत्साही रहेको जनाएको छ । कम्पनीका म्यानेजर सागर चित्रकारले आफूहरुले कोरिया जाने यात्रुका कारण आफ्नो उडानमा अकुपेन्सी राम्रो रहेको बताए।
स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक
गण्डकी।पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ । प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ । प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका साहसिक खेल गतिविधिले पोखराको पर्यटनमा बेग्लै आकर्षण थपेका छन् । बर्सेनि ठूलो संख्यामा देशीविदेशी पर्यटक साहसिक र रोमाञ्चक खेलको अनुभव बटुल्न पोखरा आउँछन् । एरियल स्पोटर्स विधामा पर्ने स्काइडाइभिङ यतिबेला पोखरामा सञ्चालन भइरहेको छ । विसं २०६७ मा पोखरामा पहिलोपटक परीक्षण उडान गरिएको स्काइडाइभिङ त्यसयता वर्षको एक/दुई याममा आयोजना हुँदै आएको छ । विशेष गरी असोज/कात्तिक र चैत/वैशाखको पर्यटकीय याममा स्काइडाइभिङका लागि आउनेको सङ्ख्या बढी हुन्छ । यस याममा यही नोभेम्बर १ देखि सुरु भएको स्काइडाइभिङ शनिबारसम्म सञ्चालन हुनेछ ।
शेयर बजार : नेप्से परिसूचक ०.३१ अंकको वृद्धिसँगै २५४४.९१ बिन्दुमा, कारोबार ३ अर्ब ४९ करोड बढी
काठमाडौँ । बिहीबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मामुली ०.३१ बिन्दुले बढेको छ । मामुली वृद्धिसँगै नेप्से परिसूचक२५४४.९१ बिन्दुमा पुगेको हो।
वृद्धिसँगै ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार ६ सय ७१ रुपैया ८२ पैसा बराबरको कारोबार भएको छ ।७६ लाख ५ हजार ५ सय ८४ कित्ता शेयरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सबै उद्योगले तिर्न सुरु गरे डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता
काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न बाँकी रहेकाहरू सबैले तिरेर लाइन जडान गरिसकेका छन् ।नेपाल विद्युत प्राधिकरणका अनुसार सबै उद्योगले बाँकी बक्यौताको किस्ता तिरेका हुन् ।
विभिन्न २१ उद्योगले प्राधिकरणलाई तिर्न बाँकी ४ अर्ब ९४ करोड ३० लाख १८ हजार ५४९ रुपैयाँ रहेको थियो । प्राधिकरणले २८ किस्तामा उक्त रकम भुक्तानी गर्न सक्ने व्यवस्था गरेको अनुसार २१ उद्योगले एक किस्ता बापत १७ करोड ४६ लाख ८४ हजार ४९५ रुपैयाँ भुक्तानी गरेका छन् । अझै ४ अर्ब ७६ करोड ८० लाख ६७ हजार ४०९ रुपैयाँ बाँकी छ । बक्यौता तिरेका सबै उद्योगको प्राधिकरणले विद्युत लाइन जडान गरिसकिएको छ ।
सुनको मूल्य फेरि तोलाको अढाई लाख पार, बिहीबार तोलाको दुई लाख ५० हजार २०० कायम
काठमाडौँ । बिहीबार सुनको मूल्य फेरि तोलाको अढाई लाख पार भएको छ । आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको हो । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij